- बैंकिङ संसार
काठमाडौँ । नेपाल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् । शनिबार बसेको सञ्चालक समिति बैठकले तीन जना मध्येबाट अधिकारीलाई आगामी चार वर्षका लागि सीइओ नियुक्त गरेको हो । उनी यसअघि बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए ।
बैंकको प्रमुख कार्यकारी अधिकृतका लागि १४ जनाको आवेदन परेको थियो । त्यस मध्येबाट प्रमुख कार्यकारी अधिकृतको अन्तिम छनौटमा अधिकारी सहित शंकर कुमार रायमाझी र शेषरमण आचार्य परेका थिए । बैंकका डेपुटी सिइओ रहेका अधिकारी प्रमुख कार्यकारीबाट देवेन्द्रप्रताप शाह अवकास भएपछि कामु सिइओ बनेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट एमबिए र पूर्वाञ्चल विश्वविद्यालयबाट इएमबिए गरेका अधिकारी नेपाल बैंककै ‘करियर बैंकर’ हुन् । उनले २०६१ साल देखि सहायक प्रबन्धक (छैठौं) तहबाट बैंकिङ करियर सुरु गरेका थिए । नेपाल बैंकमा सिइओको मासिक तलब ३ लाख रुपैयाँ हुन्छ ।