काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अलि भाटले मिटरब्याज तथा लघुवित्त पीडितका माग तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन्।
उनले हरिहर भवनस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय नजिक ४ सय ५० जना मिटरब्याज तथा लघुवित्त पीडित लामो समयदेखि धर्नामा रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । उनले पीडितहरु मिटरब्याज तिर्दातिर्दै हैरान भइसकेको उल्लेख सरकारले तत्काल तिर्नुपर्ने ब्याजको सीमा तोकिदिनुपर्ने माग समेत राखे ।
सरकारले लघुवित्त पीडितका दुई समूहसँग छुट्टाछुट्टै सम्झौता गरेपनि केही पीडितहरुले आन्दोलन जारी राखेका छन् ।
उनले भने, ‘आज म राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय हरिहर भवन गएको थिएँ । त्यहाँ करिव ४ सय ५० जना संख्यामा मिटरब्याज तथान लघुवित्त पीडितहरु बसिरहनुभएको छ । उहाँहरु देशभरबाट आउनुभएको छ । मिटरब्याज तिर्दातिर्दै उहाँहरु हैरान भइसक्नुभएको छ । अब उहाँहरुले आफ्ना प्राण आहुति दिन मात्र बाँकी छ । त्यसकारण सरकारले मिटरब्याज पीडितहरुले कति ब्याज तिर्ने ? कति पैसा तिर्ने ? यो विषयमा सरकार गम्भीर बनोस् । उहाँहरुका जायज मागहरु तत्काल सम्बोधन गरोस् ।’


