HIMALAYAN LIFE
Banking Sansar Mobile App

एउटा ‘अभियुक्त’को कुर्सी जोगाउने नाममा बैंक नडुबाऊ, ग्राहकको निक्षेपको सुरक्षा गर (विशेष सम्पादकीय)

काठमाडौँ । संगठित अपराध, ठगी र बैंकिङ कसुरजस्तो गम्भीर अपराधका अभियुक्त ज्योति प्रकाश पाण्डे अहिले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा सिइओ छन् । अध्यक्षसहित ७ मध्ये ६ संचालक ‘फरार’ छन् । एनसेलसँगको मिलेमतोमा सरकारी सम्पत्ति लिलाम गरेको प्रकरण अदालतमा छ । अदालतको अन्तिम फैसला आउन समय लाग्ने भएकाले त्यतिबेलासम्म बैंक अनिर्णयको बन्धक बन्ने खतरा छ ।
बैंकको कर्मचारी विनियमावलीले सिइओ फौजदारी केसमा मुद्धा दर्ता भईसकेपछि स्वत: निलम्बन हुन्छन् भनेको छ । तर अरु साना कर्मचारीलाई लगाइएको सो नियम अटेर गर्ने दाउमा छ बैंकको व्यवस्थापन । जनताको अरवौं निक्षेपभन्दा ठुलो एउटा सीइओको कुर्सी हो भनेजसरी बैंक बाहिर ‘सबै ठिक छ, हामी गर्दैछौँ’ भनिरहेको छ । नियामक नेपाल राष्ट्र बैंक ‘कानुनी राय लिँदैछौँ’ भनेर विज्ञप्ति जारी गरिरहेको छ । तर जनताको निक्षेप ? यसको सुरक्षाबारे हुनुपर्नेजति चिन्ता कसैमा देखिएको छैन, गर्नुपर्ने जति चिन्तन कसैले गरेको देखिँदैन।
राष्ट्र बैंक अभिभावक हो । बैंक संकटमा परेपछि उपचार गर्नेभन्दा संकट आउन नदिने काम नियामकको हो । कर्णाली डेभलपमेन्ट बैंकको घटनाले नेपाललाई एउटा कठोर पाठ सिकाइसकेको छ। ‘बैंक ठीक छ’, ‘समस्या छैन’, ‘निक्षेप सुरक्षित छ’ भन्ने आश्वासन दिँदादिँदै अन्ततः निक्षेपकर्ताले आफ्नै पैसा फिर्ता माग्दै सडकमा आउनुपर्ने अवस्था सिर्जना भयो भने नियामकको औचित्यमाथि नै प्रश्न उठ्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा पनि त्यस्तै अवस्था आउन नदिन अहिले नै कठोर कदम चाल्नुपर्छ । किनकि, बैंकले दाबी गरेजस्तो अव सबै कुरा ठिक छैन भन्ने कुरा प्रष्ट भईसकेको छ । गम्भीर अपराधको कसुरदारको नेतृत्वमा जनताको विश्वासले चलेको बैंक अव चल्नु हुँदैन भन्ने कुरा सबैले बुझिसकेका छन् । मात्र स्वार्थको लडाईमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकविरुद्ध कठोर कारवाही भएको छैन ।
कसुरबारे फैसला त अदालतले गर्छ नै, अहिले सबैभन्दा महत्वपूर्ण कुरा भनेको जनताको पैसाको सुरक्षा हो । र, एउटा ठगी, संगठित अपराध, र बैंकिङ कसुरको कसुरदारले यसको नेतृत्व गर्न सक्दैन, र गर्नु हुँदैन भन्ने तीतो सत्यबारे राष्ट्र बैंक सचेत हुनुपर्छ । छिटो भन्दा छिटो राष्ट्र बैंकले नयाँ संचालक समितिको टुंगो लगाउनुपर्छ । नयाँ नेतृत्वलाई बैंकको जिम्मा दिनुपर्छ । अव कसुरदार, कोहि अर्को विवादित पात्र वा लोसे बैंकरले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक चल्न सक्दैन । जसरी, क्यान्सर लागेको बिरामीलाई सिटामोल खुवाएर हुँदैन, त्यसरी नै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकलाई पनि अव लरोतरो नेतृत्वको जिम्मा दिएर हुँदैन । आज एउटा कसुरदार, उसलाई हटाएर फेरी उही विवादित डेपुटी सीइओ भनियो भने बैंक अन्तत: कर्णालीपथमै नजाला भन्न सकिन्न ।
बैंक भन्दा ठुलो एउटा अभियुक्तको कुर्सी हुनु हुँदैन । त्यसैले, तत्काल ज्योति प्रकाश पाण्डेलाई बैंकको सिइओ पदबाट हटाउनुपर्छ र बैंक जोगाउनुपर्छ । सबैभन्दा महत्वपूर्ण भनेको जनताले राखेको पैसा हो, त्यसको उचित सुरक्षा हुनुपर्छ ।

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

बैंकिङ संसारलाई स्वेक्षिक सहयोग अभियान

पाठक हाम्रा भगवान् हुन् । भगवानसँग सहयोगको विनम्र अनुरोध गर्न नमिल्ने कुरै भएन । त्यसैले हामी हाम्रा भगवानरुपी पाठकलाई हामीलाई स्वेक्षिक सहयोग गर्न अनुरोध गर्दछौँ । बैंकिङ संसार डटकममा प्रकाशित हुने प्रिमियम स्टोरी निर्माणमा सहयोग गर्न चाहानुहुन्छ भने तपाईंहरु पनि 'स्वेक्षिक सहयोग अभियान'मा सहभागी हुन सक्नुहुनेछ । सो रकमलाई हामी बैंकिङ क्षेत्रका प्रिमियम स्टोरीहरु तयार गर्न प्रयोग गर्नेछौँ ।