सानिमा बैंक र ट्रक व्यवसायीबीच सम्झौता, नागढुंगा सुरुङमार्गको शुल्क क्यूआरमार्फत तिर्न सकिने !

काठमाडौँ। नागढुंगा-सिस्नेखोला सुरुङमार्ग सञ्चालनको तयारी भइरहेका बेला सुरुङमार्ग प्रयोग शुल्कलाई नगदरहित बनाउने पहल गरिएको छ । नेपाल ट्रक यातायात व्यवसायी महासंघ र सानिमा बैंक बीच सुरुङमार्गको प्रवेश तथा उपभोग शुल्क डिजिटल माध्यमबाट भुक्तानी गर्ने व्यवस्था मिलाउन सम्झौता भएको छ ।

सम्झौताअनुसार सुरुङमार्ग प्रवेश गर्दा लाग्ने शुल्क आरएफआईडी प्रणालीमार्फत व्यवस्थापन गरिनेछ भने ट्रक तथा अन्य सवारीधनीले क्यूआर कोड स्क्यान गरेर सहज रूपमा शुल्क भुक्तानी गर्न सक्नेछन् ।

यसले नगद बोकेर शुल्क तिर्नुपर्ने झन्झट हट्नुका साथै भुक्तानी प्रक्रियालाई छिटो, सुरक्षित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ । सम्झौतामा महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र सानिमा बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज सञ्ज्यालले हस्ताक्षर गरेका हुन् ।

सरकारले यसअघि नै सडक बोर्ड ऐन, २०५८ अन्तर्गत नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट उपभोग शुल्क उठाउने निर्णय गरिसकेको छ । सोहीअनुसार राजपत्रमा प्रकाशित सूचनाद्वारा विभिन्न वर्गका सवारीसाधनका लागि शुल्क दर निर्धारण गरिएको छ ।

निर्धारित शुल्कअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर, माइक्रोबस तथा अन्य हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनीबस तथा मिनी ट्रक-टिपरका लागि प्रवेश शुल्क ११५ रुपैयाँ र बाहिरिने शुल्क ८० रुपैयाँ तोकिएको छ । त्यस्तै बस तथा सिंगल रियर एक्सल ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ कायम गरिएको छ । मल्टी एक्सल ट्रक, भारी सवारीसाधन तथा हेभी इक्विपमेन्टका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ निर्धारण गरिएको छ ।

महासंघका अध्यक्ष बाँनियाले डिजिटल भुक्तानी प्रणाली लागू भएपछि नियमित रूपमा सुरुङमार्ग प्रयोग गर्ने ट्रक तथा मालवाहक सवारी व्यवसायीलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार क्यूआर र आरएफआईडी प्रविधिको प्रयोगले शुल्क संकलनलाई व्यवस्थित बनाउनुका साथै यातायात क्षेत्रमा डिजिटल कारोबारको विस्तारमा समेत टेवा पुग्नेछ ।

नागढुंगा सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्ग भएकाले यसको सञ्चालनसँगै आधुनिक यातायात पूर्वाधार र डिजिटल सेवा प्रवाहको नयाँ अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्