काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट नीजि क्षेत्रमा प्रवाह हुने कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनसम्म निजी क्षेत्रमा प्रवाहित कर्जा ४.४ प्रतिशतले बढेको हो। जुन अघिल्लो वर्षको सोही अवधिको ६ प्रतिशत वृद्धिभन्दा कम हो।
जसले बैंकमा स्रोत पर्याप्त भए पनि त्यसको उपयोग अपेक्षित रुपमा हुन नसकेको स्पष्ट पारेको छ।
उक्त तथ्यांक अनुसार निजी क्षेत्रमा प्रवाह हुने कर्जा वाणिज्य बैंकहरूको ४.६ प्रतिशत, विकास बैंकहरूको ३.५ प्रतिशत र वित्त कम्पनीहरूको १.९ प्रतिशतले बढेको हो । हाल बैंक तथा वित्तीय संस्थाले नीजि क्षेत्रमा गरेको लगानी ५७ खर्ब ४१ अर्ब २४ करोड पुगेको छ ।
चालु आर्थिक वर्ष २०८२-८३ को साउनदेखि फागुनसम्म २ खर्ब ४३ अर्ब रुपैयाँभन्दा बढी कर्जा विस्तार भई कुल कर्जा ५७ खर्ब रुपैयाँ नाघेको छ। सोही अवधिमा निक्षेप ६.६ प्रतिशतले वृद्धि भई ७७ खर्ब रुपैयाँभन्दा माथि पुगेको छ। जुन अघिल्लो वर्षको तुलनामा उच्च वृद्धि दर हो।
निक्षेपको तीव्र वृद्धिले बैंकहरुमा तरलता थप सहज बनाएको छ र त्यसको प्रत्यक्ष असर ब्याजदरमा परेको छ। फागुनसम्म वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर करिब ६.९० प्रतिशतमा झरेको छ। जुन अघिल्लो वर्ष ८.४० प्रतिशत थियो।
निक्षेपतर्फको ब्याजदर पनि उल्लेख्य रुपमा घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

