६ महिनामा ग्लोबल आइएमई बैंकले कमायो ३ अर्ब २५ करोड !

काठमाडौँ। ग्लोबल आइएमई बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले चालु आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमास (साउन-पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको हो ।

जसअनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिना पुससम्म बैंकले ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को सोही अवधिसम्म बैंकले ३ अर्ब ५ करोड ३४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको यो नाफा अघिल्लो वर्षको तुलनामा ६.५० प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा समीक्षा वर्षसम्म २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ रहेको छ। बैंकले दोस्रो त्रैमाससम्म १२.२४ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ।

चालु वर्षको पुसम्म बैंकको सञ्चालन मुनाफा ४ अर्ब २७ करोड ६३ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ अर्ब २० करोड ४२ लाख रुपैयाँमा सीमित थियो। बैंकको सञ्चालन मुनाफा १.७१ प्रतिशतले बढी हो। बैंकले दोस्रो त्रैमाससम्म ८ अर्ब २ करोड २३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले ८ अर्ब २९ करोड ८५ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। बैंकको ब्याज आम्दानी ३.३३ प्रतिशतले घटेको छ।

चुक्तापुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ रहेको बैंकको रेटिन्ड अर्निङ २ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ र रिजर्भमा २६ अर्ब २७ करोड ८ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म रिटेन्ड अर्निङमा ४ अर्ब ५ करोड ४८ लाख रुपैयाँ र रिजर्भमा २४ अर्ब ४५ करोड ६६ लाख रुपैयाँ थियो। बैंकले समीक्षा वर्षसम्म ६ खर्ब ५ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ३२ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिसम्म बैंकको खराब कर्जा अनुपात (एनपीएल) घटेर ०.८८ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिसम्म बैंकको एनपीएल १.८० प्रतिशत थियो।बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १७.०६ रुपैयाँ कायम भएको छ भने पीई रेसियो १३.२४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७५.२७ रुपैयाँ कायम भएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्