काठमाडौँ। चेक क्लियरिङ्ग तथा भुक्तानी सम्बन्धी व्यवस्थामा नेपाल राष्ट्र बैंकले हेरफेर गरेको छ। बैंक तथा वित्तीय संस्थाले ५ लाख वा सोभन्दा बढीको रकम भुक्तानी गर्दा अनिवार्य रुपमा एकाउन्टपेयी चेक वा सम्बन्धित व्यक्तिको खातामा मात्र भुक्तानी गर्नुपर्ने व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले फर्म, कम्पनी, संस्था वा कार्यालयको नाममा खिचिएका चेकहरुको भुक्तानीसमेत एकाउन्टपेयी हुनुपर्ने जनाएको छ।
कुनै निक्षेपकर्ता वा बचतकर्ताले कुनै खास कारण देखाई नगद भुक्तानीको लागि दिएको निवेदनको व्यहोरा र कारण मनासिब देखिएमा त्यस्तो निक्षेपकर्ता वा बचतकर्तालाई उल्लेखित सीमाभन्दा बढी नगद भुक्तानी गर्न यस व्यवस्थाले बाधा नपर्ने उल्लेख छ ।
साथै, बैंक तथा वित्तीय संस्थाले यो व्यवस्था बमोजिम नगद भुक्तानी दिएको मासिक विवरण अद्यावधिक गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।

