- बैंकिङ संसार
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र सिन्धुलीको सुनकोशी गाँउपालिकाबीच सम्झौता भएको छ । बैंक र सुनकोशी गाँउपालिकाबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको हो । उक्त सम्झौता भने मंसिर ४ गते बिहिबार काठमाडौंमा भएको हो ।
राष्ट्रिय वाणिज्य बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र सुनकोशी गाँउपालिकाका अध्यक्ष दिपा बोहोरा(दाहाल) ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पछि गाँउपालिकाले आफ्नो क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने भएको छ ।
गाँउपालिकाले सिफारिस गरेका उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत कर्जा लगानी गर्ने भएको छ । कार्यक्रममा बागमती प्रदेशसभाका माननीय सांसद राजन दाहालले गाँउपालिकाले बजार तथा सडकको विस्तार गरी सकेको हुनाले कृषकलाई उत्पादन, बजारीकरण कार्यको लागि उत्प्रेरित गर्न यस्तो कर्जाले सघाउ पुर्याउने बताए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले यस्तो सहमतिले स्थानीय स्तरमा उद्यमशीलताको विकास भई कर्जा लगानी र असुलीमा सघाउ पुग्ने बताएका छन् । गाँउपालिकाकी अध्यक्ष दिपा बोहोरा(दाहाल) ले यस्तो सहुलियतपूर्ण कर्जा युग परिवर्तन गर्नको लागि अवसर हुने बताएकी छिन् ।