इन्फिनिटी लघुवित्तको नाफा र ईपीएसमा भारी गिरावट, खराब कर्जाको स्तर उच्च

काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको वित्तीय प्रदर्शन कमजोर देखिएको छ । कम्पनीको खुद नाफा, सञ्चालन नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) लगायत प्रमुख वित्तीय सूचकहरूमा उल्लेखनीय गिरावट आएको छ।

उक्त अवधिमा कम्पनीको खुद नाफा ९८.७४ प्रतिशतले घट्दै मात्र ६ लाख ६१ रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ५ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो। नाफामा आएको गिरावटको प्रमुख कारण सञ्चालन नाफाको कमी र इम्पेयरमेन्ट चार्जमा तीव्र वृद्धि रहेको देखिन्छ ।

कम्पनीको सञ्चालन नाफा ९ लाख ४४ हजार रुपैयाँमा झरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ९८.७४ प्रतिशतले कम हो । यसबाहेक, अघिल्लो वर्ष १ करोड ५५ लाख रुपैयाँ रिभर्स रहेको इम्पेयरमेन्ट चार्ज हाल बढेर ९ करोड ५७ लाख रुपैयाँ पुगेको छ।

यद्यपि, कम्पनीको खुद ब्याज आम्दानी भने सुधार भएको देखिन्छ । यो २८.१९ प्रतिशतले वृद्धि भई २५ करोड ५५ लाख रुपैयाँ पुगेको छ। तर, खराब कर्जाको अनुपात उल्लेखनीय रूपमा वृद्धि भएको छ। अघिल्लो वर्ष ४.९७ प्रतिशत रहेको खराब कर्जा अहिले १४.३५ प्रतिशत पुगेको छ।

यी सबै कारणले गर्दा कम्पनीको प्रतिसेयर आम्दानीमा पनि ठूलो गिरावट आएको छ । अघिल्लो वर्ष १४ रुपैयाँ १० पैसा रहेको वार्षिक EPS हाल घटेर १८ पैसा मा झरेको छ । कम्पनीको प्रति शेयर नेटवर्थ हाल १३७ रुपैयाँ ७४ पैसा रहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्