रियल स्टेट र आवास कर्जा बढ्यो, एक वर्षमा ३ खर्बभन्दा बढी कर्जा प्रवाह !

काठमाडौं । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाहरूबाट कर्जा प्रवाहमा उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२३-२४ मा क्षेत्रगत कर्जा वितरणमा उपभोग कर्जाले १९.६२ प्रतिशत, थोक तथा खुद्रा व्यापारले १९.३४ प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनले १६.६० प्रतिशत, र वित्त, बीमा तथा रियल स्टेट क्षेत्रले ७.७० प्रतिशत हिस्सा ओगटेका छन्।

समीक्षा अवधिमा विशेषगरी रियल स्टेट तथा आवास कर्जामा उल्लेखनीय वृद्धि देखिएको छ। आवास कर्जा २०७९ साउनको तुलनामा १०.९८ प्रतिशतले बढेर २०८१ साउनसम्म ३ खर्ब ८७ अर्ब २ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष ३ खर्ब ४८ अर्ब ७३ करोड रुपैयाँ थियो।

रियल स्टेट कर्जा पनि ७.४४ प्रतिशतले वृद्धि भई २ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। व्यक्तिगत आवास कर्जाले कुल कर्जा तथा अग्रिमको ७.४९ प्रतिशत हिस्सा ओगटेको छ। यस क्षेत्रमा बैंकहरूले ४.९२ प्रतिशत, विकास बैंकहरूले ६.६९ प्रतिशत र वित्त कम्पनीहरूले १०.१९ प्रतिशत कर्जा प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकको रिपोर्टअनुसार, बैंक तथा वित्तीय संस्थाहरूले स्थायी सम्पत्तिको धितोमा कर्जा प्रवाह उच्च दरमा कायम राखेका छन्। २०८१ साउनसम्म, कुल कर्जाको ७६.२२ प्रतिशत अर्थात् ३९ खर्ब ३८ अर्ब रुपैयाँ स्थायी सम्पत्तिको धितोमा प्रवाह गरिएको छ। यसमा बैंकहरूले ७५.०१ प्रतिशत, विकास बैंकहरूले ८६.२६ प्रतिशत, र वित्त कम्पनीहरूले ८१.४९ प्रतिशत कर्जा स्थायी सम्पत्तिको धितोमा लगानी गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्