काठमाडौँ । पूर्व बैंकर तारा मानन्धर प्रमुख कार्यकारी अधिकृत भएर गएपछि डिसहोमको गति दिनानुदिन ओरालो बनेको पाइएको छ । कम्पनीको ओरालो गति सुरु भएपछि आइपिओ निष्कासन लगायतका कामका लागि ठुलै पावर लगाएर डिस होममा जागिर खाएका उनको पर्फर्मेन्समा प्रश्नमात्र उठेको छैन, बरु उनलाई पुन: बैंकिङमै फर्कनसमेत धेरैले सुझाव दिन थालेका छन् । उनी कम्पनीको सिइओ भएपछि कम्पनीले राम्रो पर्फर्मेन्स गर्ने आशा गरिएको थियो । तर उनले आफ्नो काम देखाउन नसक्दा कम्पनीको हरिबिजोग हुने स्थिति देखिएको छ । जसका कारण कम्पनी आइपीओमा जाँदा पनि कसैले नपत्याउने देखिएको छ ।
डिस होमको ओरालो गति
डिस होम दिनानुदिन ओरालो गतिमा त छ नै, कम्पनीप्रतिको विश्वास पनि जनस्तरबाटै घटिरहेको छ । कम्पनीको सेल्स हदैसम्म ‘डाउन’ छ भने कम्पनीले केही नयाँ काम गर्न सकेको छैन । कुनै बेला केवल कम्पनीहरूलाई माथ खुवाएर अघि बढेको कम्पनी अहिले यतिसम्म बिजोग अवस्थामा छ कि, डिस होम जोडेकाहरुले पनि नवीकरण गरिरहेका छैनन् । विशेषगरी वर्ल्डलिंक, भायानेट लगायतका कम्पनीले दिएको टिभीसहितको सेवाका कारण डिस होमको ओरालो गति देखिएको हो ।
‘कम्पनीमा ठुलो समस्या छ । यस्तो बेलामा सिइओ सरले कुनै विशेष योजना ल्याउनुपर्थ्यो । तर उहाँ अरुलाई दोष दिने, फलानोले गरेको काम भएन भन्ने, तर आफु केहि पनि नयाँ काम नगर्ने लाइनमा देखिनुभएको छ, जुन सरासर गलत छ । यस्तै हो भने कम्पनी धेरै माथि पुग्नै सक्दैन ।’ कम्पनीका एक उच्च अधिकारीले बैंकिङ संसार डटकमसँग भने ।
उनका अनुसार अहिलेकै अवस्थामा डिस होम ‘पार भ्यालु’ अर्थात प्रति सेयर १०० रुपैयाँका लागि समेत आइपीओको लायक स्थितिमा छैन । यसको ठुलो अपजस मानन्धरले लिनुपर्ने उनको भनाई छ । ‘नयाँ जडान सहरी इलाकामा ठप्पजस्तै छ, गाउँमा अलिअलि भए पनि अहिले रिचार्ज छैन । डिस होमको बिजनेश पुरै डाउन भएपछि अहिले इन्टरनेटमा ध्यान दिनुपर्ने अवस्था छ । तर इन्टरनेटमा पनि गर्नुपर्ने जति काम भएको छैन ।’
बैंकिङमा पनि बाटो लगभग बन्द !
यता मानन्धर कम्पनी छोडेर पुन: बैंकिङ फर्कन नखोजेका भने होइनन् । तर प्रभु, मुक्तिनाथ, तत्कालीन कैलाश (हालको प्राइम) लगायतका बैंकमा डेपुटी सिइओ भएर काम गरिसकेकाले उनी तल्लो पोजिसनमा जान चाहिरहेका छैनन् । डेपुटी सिइओ वा सो भन्दा माथिको पदका लागि उनीप्रति बजार खासै ‘पोजेटिभ’ नदेखिएको जानकारहरुको दाबी छ । त्यसमाथि पछिल्लो बैंकिङमा ग्याप भएकाहरुलाई पुन: सिनियर पोजिसनमा जान साँच्चै गाह्रो हुने देखिएको छ । तर मानन्धर भने प्रभु ग्रुपका अध्यक्षलाई कन्भिन्स गरेर भए पनि बैंकिङमा फर्कने योजनामा रहे पनि माहोल नमिलेकाले त्यसो हुन नसकेको उनीहरुको दाबी छ ।
यस विषयमा कुराकानी गर्न खोज्दा मानन्धरले फोन नै उठाएनन् ।
(डिस होम कसरी टाँट पल्टिदैछ ? कसरी बिग्रियो कम्पनीको आर्थिक स्थिति ? यस विषयमा हामी अर्को अंकमा प्रस्तुत गर्नेछौँ । -सम्पादक)