काठमाडौँ । ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेन्द्रराज रेग्मीको पुत्ला जलाइएको छ ।
ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार बनाउने सम्झौता खारेजीको माग गर्दै आन्दोलित बनेका स्थानीयहरुले बैंकका सिइओ रेग्मीको पुत्ला जलाएका हुन् । सिइओसँगै उनीहरुले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालको समेत पुत्ला जलाएका छन् ।
आन्दोलनरत पक्षले ग्लोबल आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले नीतिगत भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाएको र अहिले मानवअधिकार नै हनन हुनेगरि केबलकार बनाउने लागेको भन्दै विरोध जनाएका छन् । आन्दोलनरत पक्षले ग्लोबल आइएमई बैंकमा रहेका खाता बन्द गर्न पनि आह्वान गरेका छन् ।
ढकाल नेतृत्वको आइएमई ग्रुपले पाथिभरा क्षेत्रमा केबलकार बनाउन लागेको हो । तर, स्थानीयले भने केबलकार बनाउन नहुने भन्दै र सम्झौता खारेज गर्नुपर्ने माग गर्दै विरोध गरिरहेका छन् । यसैबीच आन्दोलनरत पक्षले ढकाल अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकमा खाता बन्द गर्ने अभियान नै चलाएका छन् ।