PRABHU BANK

राष्ट्र बैंकका गभर्नर अधिकारीद्वारा बीआईएसको ९४औं वार्षिक बैठकमा सहभागिता

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले असार १५ र १६ गते स्विट्जरल्याण्डको बासेलमा आयोजित ‘द बैंक फर द इन्टरनेसनल सेटलमेन्ट’ को ९४ औँ वार्षिक बैठकमा सहभागीता जनाएका छन् । सो बैठकमा बीआईएसका सदस्य राष्ट्र, विश्वका विभिन्न केन्द्रीय बैंक तथा मौद्रिक अधिकारीहरूको सहभागिता थियो ।

गभर्नर अधिकारी ‘सीमापार भुक्तानीहरूमा उच्च स्तरीय बैठक’ विषयक अन्त्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए । सो कार्यक्रममा विभिन्न राष्ट्रका अन्तरदेशीय भुक्तानी प्रणालीमा भएका उपलब्धि र चुनौतीका सम्बन्धमा छलफल भएको थियो ।

उक्त अवसरमा गभर्नर अधिकारीले फाइनान्सियल स्टाब्लिटी इन्स्टिच्युटद्वारा आयोजित ‘वित्तीय सेवाहरूमा एआईको प्रयोगबाट उत्पन्न जोखिमहरूलाई सम्बोधन गर्न नीतिगत दृष्टिकोणहरू’ विषयक अन्तरक्रियामा सहभागी भएका थिए । सो कार्यक्रममा एआईको प्रयोग, यसले ल्याउन सक्ने चुनौती र त्यसलाई सम्बोधन गर्न विश्वका विभिन्न केन्द्रीय बैंकले अवलम्बन गर्नुपर्ने नीतिगत व्यवस्थाबारे छलफल भएको थियो ।

यसैगरी बैठकमा बीआईएसका महाप्रबन्धक अगस्टिन कार्टेन्सले बीआईएसको सन् २०२३-२४ को वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै विश्वभरका केन्द्रीय बैंकले लिएका कसिलो मौद्रिक नीतिका कारण मुद्रास्फीति र वित्तीय स्थायित्वमा सुधार आएको चर्चा गरेका थिए । उनले मुद्रास्फीतिमाथि विजय घोषणा गर्ने समय भने आइनसकेको भन्दै विगतका आर्थिक तथा वित्तीय सङ्कटको अनुभवबाट पाठ सिक्दैकेन्द्रीय बैंकहरू ढुक्क भएर बस्ने स्थिति नरहेको धारणा राखेका थिए ।

उक्त बैठकका दौरान गभर्नर अधिकारीले बीआईएस, बैंकिङ विभागका प्रमुख लुइस बेनगोचिया र उक्त विभागका अधिकृतहरूसँग छलफल गरी विभागको कार्यक्रम तथा योजनाबारे जानकारी लिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै