काठमाडौँ। सिद्धार्थ बैंकका ग्राहकले पोखरा पुग्दा एटीएम सेवा प्रयोग गर्न सास्ती खेप्नुपरेको छ। पर्यटकीय नगरी पोखरामा बैंकले सञ्चालनमा राखेका एटीएम बुथहरू नै प्रभावकारी रूपमा सञ्चालन नहुँदा ग्राहक समस्यामा परेका हुन् ।
चौबिसै घण्टा सञ्चालन हुने भनिएका एटीएम बुथहरू रात परेपछि सटर बन्द गरेर राख्ने गरिएको र कतिपय एटीएमले काम नै नगर्ने गरेको गुनासो छ। यसले पोखरा घुम्न जाने तथा आकस्मिक रूपमा रकम आवश्यक पर्ने ग्राहकलाई थप समस्यामा पारेको छ।
बैंकले समेत आफ्ना विभिन्न एटीएम बुथमा समस्या रहेको स्वीकार गरेको छ। तर, प्रधान कार्यालयले समयमै चासो नदिँदा समस्या समाधान हुन नसकेको बैंकको भनाइ छ।




