सिद्धार्थ बैंकको २५औँ वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित !

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडको २५औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। बैंकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

बुधबार काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंक सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सभा सम्पन्न भएको हो । सभाले बैंकको साधारण सेयरतर्फको चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९५ रुपैयाँको १० प्रतिशत अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

त्यस्तै, १० प्रतिशतका दरले १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित भएको छ । उक्त नगद लाभांशमा बोनस सेयर र नगद लाभांशको कर प्रयोजनका लागि आवश्यक रकमसमेत समावेश हुने बैंकले जनाएको छ । सभाले अविमोच्य असञ्चिति अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको छ । बैंकको अग्राधिकार सेयरतर्फको चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँका आधारमा २०८३ असार मसान्तसम्मको १३६ दिनका लागि समानुपातिक रूपमा १० करोड ७५ लाख ८९ हजार ४१ रुपैयाँ लाभांश वितरण गरिनेछ ।

सभाले आर्थिक वर्ष २०८२-८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित असार मसान्तको वित्तीय विवरण, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण तथा स्वपुँजीमा भएको परिवर्तनसम्बन्धी विवरण पारित गरेको छ । सभाले बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्