नेपाल बैंकबाट झिकेको रकममा नक्कली नोट भेटिएको भन्दै प्रहरीमा उजुरी

काठमाडौँ । पश्चिम नवलपरासीमा नेपाल बैंकको शाखाबाट रकम झिकेका एक सेवाग्राहीले एक हजार रुपैयाँ दरका दुईवटा नोट नक्कली भएको दाबी गर्दै प्रहरीमा उजुरी दिएका छन्।

पाल्हिनन्दन गाउँपालिका ३, बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट रकम झिकेका सेवाग्राहीले नोट नक्कली भएको भन्दै जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन थापाका अनुसार सेवाग्राहीले गत शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ झिकेका थिए। बैंकले उनलाई सय रुपैयाँ दरका नोटमा १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुईवटा नोट दिएको बताइएको छ।

रकम झिकेको केही दिनपछि दुईवटा हजार रुपैयाँका नोट नक्कली भएको दाबी गर्दै सेवाग्राही प्रहरीसमक्ष पुगेका थिए।

उजुरी प्राप्त भएपछि घटनाबारे अनुसन्धान भइरहेको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्