काठमाडौं । प्रभु बैंक र स्कुल अफ ब्युटिसियन आईटीसी स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टरबीच सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीहरुलाई काठमाडौं कमलादी स्थित रुस्काज् ब्युटि स्टुडियोमा छुट सुविधा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको हो ।
सम्झौता अनुसार कपाल काट्ने, थ्रेडिङ, सौन्दर्यसम्बन्धी तालिम (कपालमा गरिने रासायनिक उपचार, फेसियल तथा छालाको उपचार, नङसम्बन्धी सेवा-म्यानिक्योर-पेडिक्योर-वाक्सिङ), मेकअप तथा मेकअप प्याकेज, र कस्मेटिक-छालाको हेरचाह गर्ने सामग्रीहरूमा विशेष छुट पाइने भएको छ ।
एक समारोहकाबीच रुस्काज् ब्युटि स्टुडियोका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रुस्काज् वैध श्रेष्ठ र प्रभु बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकारी बागमती प्रदेश (३) प्रचिता श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरे ।
समारोहमा प्रभु बैंकको तर्फबाट कमलादी शाखाकी अधिकृत राधा गुरुङ तथा रुस्काज् ब्युटि स्टुडियोको तर्फबाट प्रबन्ध निर्देशक रवि भक्त श्रेष्ठको समेत उपस्थिति रहेको थियो । सम्झौता अनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु तथा कर्मचारीहरुले रुस्काज् ब्युटि स्टुडियो सौन्दर्य सम्बन्धि सेवा लिँदा ग्राहकहरुलाई ५% देखि २०% सम्म र कर्मचारीहरुलाई ५% देखि ३०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
छुट सुविधा प्राप्त गर्नका लागि ग्राहकहरुले मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा बिद्युतिय प्रणाली मध्ये कुनै एक तथा बैंकका कर्मचारीहरुले प्रभु बैंक लिमिटेडको कर्मचारी परिचयपत्र समेत पेश गर्नुपर्ने छ ।



