काठमाडौं । भोटेकोशी बाढीपछि रसुवा तथा आसपासका क्षेत्रमा बैंक तथा वित्तीय संस्थाका केही कर्मचारी अझै सम्पर्कविहीन छन्। बाढीले बैंकका शाखा तथा संरचनामा ठूलो क्षति पुर्याएको थियो। बेपत्ता कर्मचारीको खोजी तथा पहिचानको काम अझै जारी छ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ८ बजे सम्म १ हजार ४५५ जनाको शव फेला परेको छ ।
जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०४ जना, धादिङमा ७३ जना, चितवनमा ३६९ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४५३ जनाको शव फेला परेको हो । साथै २ जनाको काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो ।
फेला परेका शवहरूको पहिचानका लागि डिएनए नमुना सङ्कलन देखि आवश्यक प्रक्रिया पुरा गरी हाल सम्म १ हजार ३३४ वटा शव व्यवस्थापन (माटो मुनि सुरक्षित राखिएको) गरिएको छ । शव पहिचानका लागि मृतकका १ हजार ३३० र आफन्तका २ हजार ६६ गरी कुल ३ हजार ३९६ वटा डिएनए नमुना सङ्कलन गरिएको छ । साथै पहिचान नभएको १ हजार ४२१ वटा शवहरूको विवरण नेपाल प्रहरीको वेबसाइटमा समेत अपलोड गरिएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ९७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ । हालसम्म बेपत्ता भएका ४ हजार ७१८ जनाको खोजी कार्य भइरहेको छ । यसैगरी विभिन्न जिल्लाहरूमा रहेको होल्डिङ सेन्टरमा १ हजार २३४ जना व्यक्तिहरूलाई राखिएको छ ।


