काठमाडौँ। सानिमा बैंकका कम्पनी सचिव रुद्र बन्जाराले बैंकका एक साधारण सेयरधनीलाई धम्की दिएको पाइएको छ। कम्पनी सचिव बन्जाराले सेयरधनी अंगराज भारतीलाई प्रहरीमा उजुरी गरी ‘हातखुट्टा भाँचिदिने’ धम्की दिएको पाइएको हो।
सेयरधनी भारतीका अनुसार बैंकको वार्षिक साधारणसभा तथा निर्वाचनसम्बन्धी विषयमा केही जिज्ञासा राख्न कम्पनी सचिव बन्जाराको मोबाइल नम्बरमा फोन गरेका थिए।
भदौ २२ गते साँझ करिब ७:१० बजे २ मिनेट ३० सेकेन्ड, ७:१४ बजे २० सेकेन्ड तथा सोही समयमा थप ३२ सेकेन्ड कुराकानी भएको थियो।
भारतीले सोही कुराकानीका क्रममा बन्जाराले आफूलाई प्रहरीमा उजुरी गरी हातखुट्टा भाँचिदिने धम्की दिएको दाबी गरेका छन्। उनले उक्त कुराकानीको आवाज रेकर्ड आफूले प्रमाणका रूपमा सुरक्षित राखेको पनि बताएका छन्।



