बैंक खाता र सिमकार्डको दुरुपयोग गरी ठगी, बैंकिङ कसुर मुद्दामा दुई जना पक्राउ, अब हुन्छ जेल ! (सूचनासहित)

काठमाडौं। अनधिकृत रूपमा सिमकार्ड र बैंक खाता प्रयोग गरी ठगी गर्ने दुई जना पक्राउ परेका छन्। अनधिकृत रूपमा सिमकार्डको प्रयोग गरी बैंक खाता खोल्न लगाएर ठगी तथा गैरकानुनी आर्थिक कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं प्रहरीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोरङको सुनवर्षी नगरपालिका ६ घर भई काठमाडौं बस्ने ३५ वर्षीय सागर साह र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१२ घर भई काठमाडौं बस्ने २८ वर्षीय आनन्द आचार्य रहेका छन्। उनीहरूबाट प्रहरीले २ थान ल्यापटप, १२ थान सिमकार्ड, ३ थान मोबाइल फोन र २ थान एटीएम कार्ड बरामद गरेको जनाएको छ।

प्रहरीले पक्राउ परेकाविरुद्ध बैंकिङ कसुरसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।

काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार विभिन्न व्यक्तिलाई निश्चित रकम दिने प्रलोभन देखाई उनीहरूको नाममा एनसेललगायत दूरसञ्चार कम्पनीका सिमकार्ड खरिद गर्ने तथा विभिन्न बैंकमा ई-बैंकिङ र एटीएमसहितका खाता खोल्न लगाउने गरिएको थियो।

त्यसपछि ती सिमकार्ड, चेकबुक, एटीएम कार्ड तथा ई-बैंकिङ प्रणालीको ओटीपी-पिन नम्बर आफ्नो नियन्त्रणमा लिई हुन्डी, अनलाइन गेम तथा अनलाइन ठगीलगायतका गतिविधिमा रकम कारोबार गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्