काठमाडौँ। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । राष्ट्र बैंकले भदौ ३ गते निक्षेप संकलन उपकरणमार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम उठाउन लागेको हो ।
राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल (अक्सन) आयोजना गरिनेछ । बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा निक्षेप राख्नका लागि बोलकबोलमार्फत सहभागिता जनाउन सक्नेछन् ।
केन्द्रीय बैंकका अनुसार निक्षेप संकलनको बोलकबोल ब्याजदरका आधारमा गरिनेछ । सहभागी संस्थाले फरकफरक ब्याजदरमा समेत बहुबोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ । राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार निक्षेप संकलन उपकरणमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।
यो ६ महिने निक्षेप संकलन उपकरण हुनेछ । यसअन्तर्गत बैंक तथा वित्तीय संस्थाले राखेको रकमको साँवा र ब्याज आगामी फागुन ३ गते भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय कर्जा विस्तारको तुलनामा निक्षेप वृद्धि उच्च हुँदा बैंकिङ प्रणालीमा लगानीयोग्य रकम बढ्दै गएको छ । अधिक तरलताका कारण अन्तरबैंक ब्याजदर दबाबमा पर्न थालेपछि राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । सूचनासहित:




