लघुवित्त र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा पूर्वराष्ट्रपतिको जोड

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लघुवित्त, सहकारी र मिटरब्याज पीडितका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएर समाधान गर्नुपर्नेमा जोड दिएकी छन् ।
मंगलबार ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोगको कार्यालय अगाडि धर्नामा रहेका वित्तीय पीडितहरूलाई भेट्न पुगेकी भण्डारीले आन्दोलनरत महिलाहरूको स्वास्थ्य स्थितिप्रति चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले पीडितका मागहरूका बारेमा जानकारी लिएको उल्लेख गर्दै यस विषयमा सरकारले गम्भीर भएर समाधानका उपाय खोज्नुपर्ने बताए । पीडितहरूका समस्या समाधानका लागि विगतको अन्तरिम सरकारले गरेका सम्झौताहरूको स्मरण गराउँदै भण्डारीले वर्तमान सरकारले ती सम्झौताका आधारमा समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने सुझाव दिए ।

धर्नास्थलमा पीडितहरूसँग कुराकानी गर्दै पूर्वराष्ट्रपति भण्डारीले भने, ‘धेरै आमा, दिदीबहिनी र नानीहरू केही दिनदेखि आन्दोलनमा हुनुहुन्छ भन्ने जानकारी पाएपछि उहाँहरूको स्वास्थ्य अवस्था बुझ्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन म यहाँ आएकी हुँ । यस समस्यालाई जरैदेखि समाधान गरेर दिदीबहिनीहरूको स्वास्थ्यमा प्रतिकूलता नआओस् र उहाँहरूले फेरि दुःख भोग्न नपरोस् भन्ने मेरो चाहना छ ।’

भण्डारीले सामाजिक न्यायका लागि भइरहेको यस आन्दोलनप्रति ऐक्यवद्धता समेत प्रकट गरे । भेटका क्रममा आन्दोलनरत पीडितहरूले आफ्ना समस्या र पीडा सुनाएका थिए । पीडितहरूका तर्फबाट बोल्दै एक सहभागीले आफूहरू विगत चार दिनदेखि धर्नामा रहेको र कतिपय पीडितहरू सुनसरीको इनरुवादेखि १९ दिनको पैदल यात्रा गरेर काठमाडौं आएको जानकारी गराए ।

उनीहरूले तत्कालका लागि घुम्ती शौचालय र सुरक्षित बासस्थानको व्यवस्था गरिदिन पूर्वराष्ट्रपतिसँग आग्रह गरेका थिए । विगत केही समयदेखि लघुवित्त र मिटरब्याजका कारण समस्यामा परेका सर्वसाधारणहरू न्यायको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्