सिप्रदीको विज्ञापन एजेन्सीबाट ‘पक्राउ’को झुटो प्रेस रिलिज, विभिन्न मिडियामा फैलियो भ्रम

काठमाडौं । सिप्रदीसँग आबद्ध विज्ञापन एजेन्सी एभरेष्ट एड एण्ड इभेन्ट मेनेजमेन्टबाट ‘पक्राउ’ सम्बन्धी झुटो विवरण विभिन्न सञ्चारमाध्यममा पठाइएपछि नयाँ विवाद सिर्जना भएको छ। शुक्रबार बिहान ११:०५ बजे ‘Everest Ad Media Coordinator’ नामको इमेलमार्फत आफूलाई एभरेष्ट एडको मिडिया कोअर्डिनेटर बताउने विपना श्रेष्ठले विभिन्न मिडियामा एउटा प्रेस रिलिज पठाएकी थिइन्।

उक्त रिलिजमा बनेपास्थित नेष्ट जेनेरेशन अटोमोटिभ प्रा.लि.का सञ्चालक राजकुमार पोतेलाई अवैध रूपमा टाटा गाडीका नक्कली पार्टपुर्जा तथा लुब्रिकेन्ट आयात गरी बिक्री–वितरण गरेको आरोपमा पक्राउ गरिएको उल्लेख गरिएको थियो। रिलिजसँगै एआई प्रयोग गरेर तयार गरिएको जस्तो देखिने तस्वीरसमेत संलग्न गरिएको थियो।

विज्ञापन एजेन्सीका नाममा ‘गैरकानुनी अभ्यास’

नेपालमा कसैलाई पक्राउ गरिएको आधिकारिक जानकारी सामान्यतया सम्बन्धित प्रहरी निकायबाट सार्वजनिक गरिन्छ। तर यस घटनामा भने विज्ञापन एजेन्सीले नै प्रहरीको शैलीमा ‘पक्राउ’ भएको विवरण तयार गरी विभिन्न सञ्चारमाध्यममा पठाएको देखिएको छ ।

बैंकिङ संसार डटकमसँगको कुराकानीमा नेष्ट जेनेरेशन अटोमोटिभका सञ्चालक राजकुमार पोतेले आफू पक्राउ नपरेको स्पष्ट पारे । उनका अनुसार प्रहरीले केही सोधपुछ गरेपछि गोदाम सिल गरेको भए पनि आफूलाई नियन्त्रणमा लिएको वा पक्राउ गरेको अवस्था छैन।

पोतेले आफूले सम्बन्धित सामान भन्सार प्रक्रिया पूरा गरेर, एलसी खोलेर तथा कानुनी प्रक्रिया अपनाएर आयात गरेको दाबी गरे । ‘मसँग सबै आवश्यक कागजात छन्। एक्कासि सिप्रदीको टोली प्रहरीसँग आयो र कुनै पक्राउ पुर्जीबिनै गोदाममा ताला लगाइयो। अब म कानुनी उपचारको प्रक्रियामा छु’ उनलेभने।

गल्ती भएको एभरेष्टको स्वीकार, तर सच्याइएन गल्ती
एभरेष्ट एडकी मिडिया कोअर्डिनेटर भनिएकी विपना श्रेष्ठले प्रारम्भिक प्रेस रिलिज पठाइसकेपछि त्यसमा त्रुटि भएको जानकारी आफूहरूले पाएको स्वीकार गरेकी छन् । उनका अनुसार पछि सच्याइएको प्रेस रिलिज पठाउने तयारी भए पनि ‘आजलाई यत्तिकै होस् भन्ने निर्देशन आएपछि सुधारिएको विवरण मिडियामा पठाइएन ।राजकुमार पोतेले यस विषयमा कानुनी परामर्श गरिरहेको बताएका छन्। यो केसमा विपना श्रेष्ठसहित एभरेष्ट एड एण्ड इभेन्ट मेनेजमेन्टका संचालकहरुलाई साइबर अपराध र गाली बेइज्जती दुबैको केस लाग्न सक्छ ।यस्तै, जिल्ला प्रशासन कार्यालय, काभ्रेले पनि सिप्रदीको उजुरीका आधारमा सम्बन्धित गोदाम सिल गरिएको भए पनि कुनै व्यक्तिलाई पक्राउ नगरिएको प्रष्ट पारेको छ।

प्रहरी स्रोतका अनुसार कसैको पक्राउ सम्बन्धी झुटो वा अपुष्ट सूचना अनधिकृत रूपमा वितरण गर्दा प्रचलित साइबर कानुन तथा अन्य कानुनी व्यवस्था आकर्षित हुन सक्ने अवस्था रहन्छ। प्रहरीले प्रहरीबाटै आएको बाहेक अन्य अनाधिकृत ठाउँबाट गएका व्यक्ति पक्राउका सूचना प्रकाशन गर्दा मिडियाहरुले ख्याल गर्नुपर्नेतर्फ पनि सचेत रहन आग्रह गरेको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्