काठमाडौँ । सरकारी स्वामित्वमा पुगिसकेको सम्पत्ति लिलाम गरेको प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डेसहितका संचालकहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । स्मार्ट सेलको सम्पत्ति गैरकानुनी रुपमा लिलाम गर्न स्वीकृति दिएको भन्दै उनीहरुविरुद्ध पक्राउ पूर्जी जारी भएको हो । अध्यक्ष पाण्डे हाल अमेरिकामा छन् भने पक्राउ पूर्जी जारी भएका बाँकी संचालकहरु फरार छन् । प्रहरीले उनीहरुलाई खोजिरहेको छ ।
उनीहरुविरुद्ध पक्राउ आदेश लिनका लागि प्रहरी गत शुक्रबार अदालत गएको थियो । अदालतको अनुमति पाएलगत्तै प्रहरीले खोजी कार्य सुरु गरेको छ । स्रोतका अनुसार प्रहरीले कुल ११ जना विरुद्ध पक्राउ पूर्जीका लागि अदालतसँग अनुमति मागेको थियो ।
प्रहरीले बैंकका सबै संचालक र दुई व्यवस्थापकविरुद्ध अनुसन्धान गरिरहेको बुझिएको छ । संचालकहरुमध्येका एक मदन आचहर्य भने प्रहरीको सम्पर्कमा नै रहेको बुझिएको छ । उनले सीआईबीमा उपस्थित भएर बयानसमेत दिईसकेका छन् । बयानका क्रममा उनले आफु सो निर्णय गर्ने बैठकमा उपस्थित भएको तर सो निर्णयमा विमति जनाउँदै सहि नगरेको दाबी गरेका छन् ।
यहि प्रकरणमा नेपाल दूरसंचार प्राधिकरणका तत्कालीन अध्यक्ष भुपेन्द्र बहादुर भण्डारी पक्राउ परिसकेका छन् । पक्राउ पूर्जी जारी भएका सबैको बैंक खाता रोक्का भईसकेको छ ।
केहि दिन अघि अर्थमन्त्रीसँगको बैठकमा बैंकका सीइओ ज्योतिप्रकाश पाण्डेले सरकारले अनुसन्धानका नाममा संचालकहरुलाई धरपकड गर्न खोजेको संकेत गरेका थिए । सीइओ पाण्डे स्वयम् यो केसमा भाग्दाभाग्दै पक्राउ परेका थिए भने पछि सर्वोच्चले बाहिरै राखेर अनुसन्धान गर्न भन्दै हिरासतबाट छाड्न आदेश दिएको थियो।
बैंकको बोर्डका सबै संचालक प्रहरीको खोजी सूचीमा परेपछि बैंकका कामसमेत प्रभावित भएका छन्।


