काठमाडौं । अर्थमन्त्रीसँगको भेटमा बैंकरहरुले खुलेर आआफ्ना कुरा राखेका छन् । राष्ट्र बैंकका कोहि प्रतिनिधि नभएकाले र मिडियालाई पनि बाहिरै राखिएकाले उनीहरुले निर्धक्क आफ्ना कुरा राखेका थिए । तर अगाडीको औपचारिक बाहेक बाँकी बैठक बन्द कोठाभित्रको आन्तरिक छलफल भनिए पनि बैठक सकिएलगत्तै कसले के भन्यो भन्ने विषयमा केहि बैंकरहरु नै मिडियादेखि राष्ट्र बैंकका अधिकारीसम्मलाई ब्रिफिङ गर्न व्यस्त थिए ।
बैठकपछि मिडियाकर्मीसँग बोल्दै निकै औपचारिक ढंगले प्रस्तुत भए पनि मनोज ज्ञवालीले अर्थमन्त्रीसँग दमदार रुपमा आफ्नो कुरा राखेका थिए । उनले खराब ऋणमाथि हुने प्रोभिजनको नीति परिवर्तन गर्न आवश्यक रहेको सुझाव दिए । खराब ऋणलाई प्रोभिजन गर्नुपर्ने नियामकीय व्यवस्थाका कारण समस्या आएको भन्दै उनले अहिलेको नीति परिवर्तन गर्ने बेला भएको दाबी गरे । बजारमा कालोसूचीमा परेकाहरुको संख्या अत्याधिक रहेकाले यसतर्फ सरकारले सोच्नुपर्ने दाबी गरे ।

सिटिजन्स बैंकका सीइओको जोड भने हाइड्रोमा थियो । बैंकिङ क्षेत्रका समस्या र तिनका समाधान भन्दा पनि पोखरेल हाइड्रोकै बढी कुरा गरिरहेका थिए । आफ्नो बोल्ने क्रममा उनले हाइड्रोमा लगानी गर्न चाहानेहरुको संख्या निकै बढी भएको र बाहिर हल्ला चलेजस्तो हाइड्रोमा समस्या आएको स्थिति नरहेको दाबी गरे ।
मर्जरका कारण निकै समस्या भईरहेको चर्चाका बीच नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका ज्योतिप्रकाश मर्जरका कारण अहिले लगानी विस्तारमा समस्या भएको दाबी गरे । यतिसम्म कि, उनले त मर्जरलाई जवर्जस्ती गरिएकोसमेत भन्न भ्याए । ऋण लिने तर नतिर्नेहरुलाई उचित कारवाही गर्नुपर्नेमा पनि उनको जोड थियो ।
बैंकर्स संघका उपाध्यक्षसमेत रहेका ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र रेग्मीले व्यवसायीको आत्मविश्वास बढाउन सरकारले भूमिका खेल्नुपर्ने बताए । यता लक्ष्मी सनराइज बैंकका सीइओ अजय शाहले साना व्यवसायमा लगानी गर्नुपर्ने बताउँदै व्यवसायीलाई धरपकड नहुनुपर्ने बताए ।
अरु बेलामा पनि कम बोल्ने, बढी सुन्ने सीइओका रुपमा परिचित एभरेस्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गाउँ गाउँसम्म कर्जा विस्तार गर्नुपर्ने र त्यसमा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले सरकारले गर्ने खर्च बढाउनुपर्नेसमेत बताए ।
एनआईसी एसिया बैंकका सीइओ सुजित शाक्यले आफ्नै बैंकको पीडा सुनाए । कोभिडका बेला साना व्यवसायीलाई प्रदान गरिएको ऋणमा समस्या देखिएको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए । तत्कालीन अवस्थामा एनआईसी एशियाले कोभिडका बेला यस्तो ऋण अन्धधुन्ध प्रवाह गरेको थियो । उनले एक बर्षमै शतप्रतिशत प्रोभिजनिङ गर्ने विषय सहि नभएको दाबी गरे । सिद्धार्थ बैंकका सीइओ रामेश्वर बस्यालले पनि शतप्रतिशत प्रोभिजनको व्यवस्था परिवर्तन गर्नुपर्ने बताए ।

कर्मचारीको विवादले खासै फ्रेस नदेखिएका नेपाल एसबिआई बैंकका प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले भारतकै उदाहरण दिएर कुरा सुरु गरे । उनले पूर्वाधारमा लगानी गर्नुपर्ने सुझाव दिँदै सरकारले लगानीमा विशेष ख्याल गर्नुपर्ने बताए ।
हिमालयन बैंकका सीइओ अशोक राणा र स्ट्यान्डर्ड चार्टर्ड बैंकका गोरखशमशेर राणाले औपचारिक भनाईमात्र राखे । प्राइम कमर्शियल बैंकका सीइओ सञ्जीव मानन्धरले व्यवसायी पक्राउ पर्दा ऋणमा समस्या आएको बताए।

सीइओ हुने बित्तिकै राजनीतिक व्यक्तिका फाइल धमाधम अघि बढाएका नेपाल बैंकका सीइओ तिलक पाण्डेले बैंकहरूमा बढेको गैर बैंकिङ सम्पत्तिका विषयमा चिन्ता व्यक्त गरे । कसले के भन्यो भन्ने विषय राष्ट्र बैंक र मिडिया मा पुग्छ भन्ने थाहा पाएर कुमारी बैंकका सीइओले भने खासै केहि बोलेनन् । उनले सर्वोच्चकै अदालतको फैसलाका कारण आफ्नो पद कुनै पनि बेला जाने भएकाले अव बैंकको धेरै चिन्ता नलिने भन्ने सोचमा रहेको उनी निकटहरु बताउँछन् ।
राष्ट्रिय बाणिज्य बैंक, कृषि बिकास बैंक र प्रभु बैंकका सीइओ भने बैठकमै आएनन् । एक सीइओले भने काठमाडौँ बाहिर छु भनेर झुट बोलेर बैठकमा गएनन् ।

