काठमाडौं । डिजिटल वालेट सेवा इसेवाप्रति असन्तुष्टि जनाउँदै एक व्यवसायीले आफ्नो पसलमा रहेको इसेवाको क्युआर स्ट्यान्ड डस्टबिनमा फालेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ।
टिकटक प्रयोगकर्ता मित्र भुसालले सार्वजनिक गरेको उक्त भिडियोमा उनले इसेवाको सेवा गुणस्तरप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। भिडियोमा उनले “इ–सेवा को काम छैन” भन्दै क्युआर स्ट्यान्ड डस्टबिनमा फाल्दै, बारम्बार हुने प्राविधिक समस्याका कारण ग्राहकको रकम लामो समयसम्म अड्किने गरेको र त्यसबाट आफूजस्ता व्यवसायीले आर्थिक नोक्सानी बेहोर्नुपरेको गुनासो गरेका छन्।
भिडियोमा उनले प्रायः सिस्टम डाउन हुने, कारोबार सफल नहुने वा रकम अड्किने समस्या दोहोरिने गरेको आरोप लगाएका छन्। यस्ता समस्याका कारण ग्राहक र व्यवसायीबीच विवाद हुने, रकम फिर्ता हुन ढिलाइ हुँदा व्यापारमा समेत असर परेको उनको भनाइ छ।
उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरै प्रयोगकर्ताले पनि आफूले भोगेका समान अनुभवहरू उल्लेख गर्दै प्रतिक्रिया जनाइरहेका छन् भने केहीले भने यस्तो असन्तुष्टि समाधानका लागि कम्पनीले सेवा सुधार गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

