काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेड (NSBL) ले भारतको इन्डियन चेम्बर अफ कमर्स (ICC), भारत द्वारा आयोजित चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स २०२६ मा चारवटा प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
बैंकले ‘बेस्ट बैंक इन एमएसएमई एक्सेलेरेसन’, ‘बेस्ट पर्फर्मेन्स अन एसेट क्वालिटी’, ‘बेस्ट पर्फर्मेन्स अन प्रोफिटेबिलिटी’ तथा ‘बेस्ट कमर्सियल बैंक’ विधामा अवार्ड जित्दै अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता स्थापित गरेको हो।
बैंकका अनुसार यी सम्मानहरूले वाणिज्य बैंकिङमा उत्कृष्ट सेवा, सम्पत्ति गुणस्तरको प्रभावकारी व्यवस्थापन, उच्च नाफामुखी कार्यसम्पादन तथा साना, घरेलु तथा मझौला उद्यम (MSME) क्षेत्रको प्रवर्द्धनप्रतिको बैंकको प्रतिबद्धतालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ।
नेपाल एसबीआई बैंकले यो उपलब्धिमा निरन्तर विश्वास र साथ दिने आफ्ना शेयरधनी, ग्राहक तथा नियामक निकायप्रति आभार व्यक्त गरेको छ। बैंकले नियामक निकायबाट प्राप्त मार्गदर्शन र सहयोग आफ्नो विकास र सफलताको महत्वपूर्ण आधार बनेको जनाएको छ।
बैंकले यो अन्तर्राष्ट्रिय सम्मानले भविष्यमा अझ गुणस्तरीय, विश्वसनीय र प्रविधिमैत्री बैंकिङ सेवा विस्तार गर्न थप प्रेरणा मिलेको उल्लेख गर्दै मुलुकको आर्थिक विकास र समृद्धिमा अझ प्रभावकारी योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।


