सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘द बैंकर’को ‘बैंक अफ द इयर’ अवार्ड

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेलायतको फाइनान्सियल टाइम्स (Financial Times) समूह अन्तर्गत प्रकाशित प्रतिष्ठित पत्रिका ‘द बैंकर (The Banker)’ बाट प्रदान गरिने ‘बैंक अफ द इयर २०२५ (Bank of the Year 2025 – Nepal)’ अवार्ड प्राप्त गरेको छ। बैंकले लगातार दोस्रो वर्ष यो अन्तर्राष्ट्रिय सम्मान जित्दै नेपालको अग्रणी बैंकमध्ये आफ्नो स्थान थप सुदृढ बनाएको हो।

लन्डनमा आयोजित विशेष समारोहमा बैंकका अध्यक्ष प्रबलजंग पाण्डे र प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेल ले बैंकका तर्फबाट उक्त अवार्ड ग्रहण गरेका थिए। समारोहमा १२५ भन्दा बढी देशका ४०० भन्दा बढी अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत तथा बैंकिङ क्षेत्रका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो।

सिटिजन्स बैंकले यसअघि पनि ‘बैंक अफ द इयर २०२४’ अवार्ड जितेको थियो। लगातार दोस्रो वर्ष प्राप्त भएको यो सफलताले अन्तर्राष्ट्रिय स्तरमा बैंकको उत्कृष्ट वित्तीय प्रदर्शन, सुशासन, नवप्रवर्तन तथा ग्राहकमुखी सेवाको पुष्टि गरेको बैंकले जनाएको छ।

अवार्ड ग्रहणपछि अध्यक्ष प्रबलजंग पाण्डे ले विश्वप्रसिद्ध संस्थाबाट लगातार दोस्रो वर्ष सम्मानित हुनु नेपाली बैंकिङ क्षेत्रकै लागि गर्वको विषय भएको बताए। उनले आगामी दिनमा पनि ग्राहकमैत्री, आधुनिक र जिम्मेवार बैंकिङ सेवाप्रति बैंकको प्रतिबद्धता अझ सुदृढ बनाइने उल्लेख गरे।

त्यसैगरी, सीईओ गणेशराज पोखरेल ले नियामक निकाय, शेयरधनी, ग्राहक, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको सामूहिक प्रयासका कारण यो सफलता सम्भव भएको बताए। उनले बैंकले आगामी दिनमा पनि सुशासन, विवेकपूर्ण बैंकिङ अभ्यास तथा हरित बैंकिङ (Green Banking) लाई प्राथमिकतामा राखेर सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे।

द बैंकर ले सन् २००२ यता नेपालका केवल नौ वटा बैंकलाई ‘बैंक अफ द इयर’ सम्मान प्रदान गरेको छ। प्रत्येक वर्ष बैंकको वित्तीय प्रदर्शन, सुशासन, नवप्रवर्तन, डिजिटल रूपान्तरण तथा चुनौती सामना गर्ने क्षमताका आधारमा विजेता छनोट गरिन्छ।

सिटिजन्स बैंकले पछिल्ला वर्षहरूमा नेपालकै पहिलो ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’, ‘सिटिजन्स जेन–जेड बचत खाता’, ‘सिटिजन्स डिजिबैंक सेवा’, मोबाइल बैंकिङमार्फत शेयर आवेदन (Mero Share/ASBA) र CRN सेवा, तथा अन्य बैंकका ग्राहकले पनि क्यूआरमार्फत काउन्टरबाट नगद झिक्न सक्ने क्रस–बैंक टेलर क्यूआर सुविधा जस्ता नवीन डिजिटल सेवाहरू सञ्चालनमा ल्याएको छ। साथै, फ्रीलान्सर लक्षित ‘फ्रीलान्सर सेभिङ अकाउन्ट’ समेत सञ्चालनमा ल्याएको बैंकले जनाएको छ।

हाल सिटिजन्स बैंकले ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ एक्सटेन्सन काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइ मार्फत करिब १९ लाख ५६ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै