भारतको सरकारी बैंक बडोदाबाट ग्राहकको १ टीबी डेटा लिक

काठमाडौँ। भारतका प्रमुख सरकारी बैंकमध्ये एक बैंक अफ बडोदाले आफ्नो एक कर्मचारीको इमेल अकाउन्टमा अनधिकृत पहुँच भएपछि सीमित डेटा ब्रीच भएको पुष्टि गरेको छ। भारतीय सञ्चार माध्यमहरूका अनुसार बैंकसँग सम्बन्धित करिब १ टेराबाइट (टीबी) डेटा इन्टरनेट तथा डार्क वेबमा सार्वजनिक भएको दाबी गरिएको छ।

यदि यति ठूलो परिमाणमा डेटा लिक भएको पुष्टि भएमा यसले बैंकिङ क्षेत्रको साइबर सुरक्षामाथि गम्भीर प्रश्न उठाउन सक्छ। बैंकहरूसँग ग्राहकका व्यक्तिगत तथा संवेदनशील विवरण रहने भएकाले यस्ता सूचना गलत व्यक्तिको हातमा पुगे साइबर ठगी, पहिचान चोरी (Identity Theft) लगायतका जोखिम बढ्न सक्ने साइबर सुरक्षा विज्ञहरूको भनाइ छ।

यद्यपि बैंक अफ बडोदाले जारी गरेको आधिकारिक वक्तव्यमा बैंकको मुख्य प्रणालीमा ह्याकरले प्रवेश नगरेको स्पष्ट पारेको छ। बैंकका अनुसार घटना एक कर्मचारीको इमेल अकाउन्ट ह्याक भएपछि भएको हो।

बैंकले घटनाबारे जानकारी प्राप्त हुनेबित्तिकै आवश्यक सुरक्षा उपाय अपनाएर अवस्थालाई नियन्त्रणमा लिइएको जनाएको छ। साथै, ग्राहकहरूको कोर बैंकिङ प्रणाली, खाता तथा कारोबारसँग सम्बन्धित प्रणालीमा कुनै अनधिकृत पहुँच नभएको र बैंकिङ सेवा सुरक्षित रहेको दाबी गरेको छ।

घटनाको वास्तविक कारण, प्रभावित डेटाको प्रकृति तथा सम्भावित प्रभावबारे विस्तृत जानकारी संकलन गर्न बैंकले फरेन्सिक अनुसन्धान सुरु गरेको जनाएको छ। अनुसन्धानको निष्कर्षपछि मात्रै डेटा ब्रीचको वास्तविक परिमाण र त्यसको असरबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै