काठमाडौँ। कृषि विकास बैंकले आफ्ना अडिटरलाई कारवाही नगर्ने सर्तमा नियामकलाई नै चन्दा दिएर प्रभावमा पारेको खुलासा भएको छ । नियामक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थालाई कार्यक्रमका नाममा चन्दा दिएर बैंकले आफ्ना अडिटर जोगाउन खोजेको पाइएको हो ।
बैंकले आफ्ना अडिटरमाथि कारवाही नहोस् भन्ने उद्देश्यले नियामक निकायलाई नै कार्यक्रम सहयोगका नाममा आर्थिक योगदान (चन्दा) दिएको दाबी बाहिरिएपछि संस्थागत पारदर्शिता र नैतिकतामाथि प्रश्न उठ्न थालेका छन्।
बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग सम्बन्धित एक कार्यक्रमलाई सहयोग गरेको देखिए पनि यसको वास्तविक उद्देश्य नियामक निकायलाई प्रभावमा पार्ने रहेको आशंका व्यक्त गरिएको छ।
स्रोतहरूका अनुसार सो सहयोग अडिटरविरुद्ध सम्भावित अनुशासनात्मक कारबाही रोक्न वा नरम बनाउन गरिएको हुनसक्ने भनाइ बाहिर आएको छ।
विवादको केन्द्रमा बैंकसँग आबद्ध अडिटरहरूको भूमिका रहेको छ । ती अडिटरहरूले बैंकको वित्तीय विवरण जाँच गर्दा देखिएका कमजोरी वा त्रुटिहरूमा पर्याप्त कडाइ नगरेको आरोप पहिल्यै उठ्दै आएको थियो।


