राष्ट्रिय सहकारी बैंकले एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा नि:शुल्क गर्ने

काठमाडौँ। राष्ट्रिय सहकारी बैंकले एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ । बैंकले आफ्ना सदस्य सहकारी संघसंस्थाका लागि एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा नि:शुल्क गर्ने निर्णय गरेको हो ।

बैंक सञ्चालक समितिको फागुन ३ गते बसेको बैठकले शनिबार फागुन १६ गतेदेखि यो सेवा लागू हुने जनाएको छ । सदस्य सहकारी संघसंस्थामा डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यो सेवा लागू गरिएको र यसअघि लिँदै आएको शुल्क खारेज गरेको बैंकका अध्यक्ष महेन्द्रकुमार गिरीले जनाएका छन् ।

सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बैंकिङतर्फ उन्मुख गराउने र सेवाको प्रयोग बढाउने लक्ष्यका साथ उक्त सेवा नि:शुल्क गरिएको अध्यक्ष गिरिको भनाइ छ । यसअघि बैंकले सदस्य संघसंस्थाहरुबाट एसएमएस सेवाको लागि वार्षिक २०० रुपैयाँ र इन्टरनेट बैंकिङ सेवाका लागि वार्षिक १०० रुपैयाँ लिँदै आएको थियो । नयाँ निर्णय कार्यान्वयनमा आएपछि सदस्य सहकारी संघसंस्थाहरूले यी दुवै सेवा पूर्ण रूपमा नि:शुल्क प्रयोग गर्न पाउने भएका छन् ।

बैंकका अनुसार शुल्क हटाउने निर्णयले डिजिटल सेवाप्रति सदस्य संस्थाहरूको आकर्षण र प्रयोग दुबै बढ्ने अपेक्षा गरेको छ ।

बैंकका अनुसार हालसम्म एसएमएस सेवा ४ हजार १४८ सदस्य सहकारी संघसंस्थाले प्रयोग गरिरहेका छन् भने इन्टरनेट बैंकिङ सेवा २ हजार ७९४ सदस्य सहकारी संघसंस्थाले लिइरहेका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले शुल्क हटाइएपछि यी सेवाको प्रयोग अझ विस्तार हुने बताए । डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा पनि सदस्य संस्थाहरूलाई प्रविधिमैत्री सेवामा आबद्ध गराउने कार्यक्रमहरू अघि बढाउने जनाएका छन् ।

बैंकले हाल सहकारी संघसंस्थाहरूलाई नवीनतम सूचना प्रविधि तथा प्राविधिक सेवा अन्तर्गत इन्टरनेट बैंकिङ तथा एसएमएस सेवा, फण्ड ट्रान्सफर सेवा, कोप कार्ड (डेबिट कार्ड) सेवा, क्यु आर सेवा, कनेक्ट आइपीएस तथा कर्पोरेट पे सेवा प्रदान गर्दै आएको छ ।

बैंकमा हाल १६ हजार ४८० सहकारी संघसंस्था सदस्य रहेका छन् । बैंकको यो निर्णयले सहकारी क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रयोग बढाउन, सञ्चालन खर्च घटाउन तथा संस्थागत दक्षता अभिवृद्धि गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

HIMALAYAN LIFE

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै