काठमाडौँ। नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवालीले पछिल्लो समय प्रविधिको प्रयोगसँगै डिजिटल ठगीहरु बढिरहेको बताएका छन्। उनले पछिल्लो समय डिजिटल ठगीहरु बढिरहेको भन्दै यसबाट बच्नका लागि आफ्ना केहि सुझावहरु पनि दिएका छन्।
बैंकिङ कारोबार गर्ने ग्राहकहरुलाई ज्ञवालीले दिएको सुझावहरु निम्न छन्:
१. बैंकको कर्मचारीले यहाँहरूको खाता सम्बन्धित र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन, यहाँको विवरण बैंक मै हुन्छ
२. कुनै पनि मान्छेलाई (आफन्त समेतलाई) आफ्नो मोबाइल बैकिङ वा इन्टरनेट बैंकिङ को पासवर्ड र पिन कहिल्यै सेयर नगर्नुस, कुनै कारणबस गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस्
३. सेयारिङ्ग बेसिसमा ल्यापटप वा डेस्कटप चलाउनुहुन्छ र सोही डिभाइसबाट इन्टरनेट बैंकिङ वा आइपियस कनेक्ट चलाई राख्नुहुन्छ भने युजरनेम र पासवर्ड कहिल्यै डिभाइसमा सेभ नगर्नुस्
४. कुनै व्यक्तिले यसरी तपाईंको खाता सम्बन्धित विवरणहरू शङ्कास्पद हिसाबले मागेका होसियार हुन्छ र कुनै विवरण शेयर नगर्नुस्, उक्त फोन नं र अन्य विवरण सम्बन्धित बैक मा जानकारी गराउनुहोस्
५. तपाईंलाई लोट्री वा चिट्ठा पर्यो हामी पैसा पठाई दिन्छौ तपाईंको खाताको विवरण चाहियो भनेर आउने मेसेज र इमेललाई लोभमा परेर जवाफ नदिनु, तपाईं कहिल्यै खरिद नगरेको लोट्रीकसरी तपाईँलाई पर्दछ
६. बैंकका कर्मचारीले ग्राहकको खाता सञ्चालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन्, यसर्थ फोन को भरमा कुनै जानकारी शेयर नगर्नुस्
७ . आफूले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेविट भएको जानकारी एसएमएस मार्फत प्राप्त हुदा साथ तत्काल बैकमा सम्पर्क गर्नुहोस्
खाता सम्बन्धित विवरण, पासवर्ड र ट्रान्जेक्सन पिन शेयर गर्नु भनेको पैसा राखेको पैसाको थैलीलाई मेला लागेको चौराहा मा छोडेर हिड्ने जस्तै हो, चोरी हुन्छ, यसर्थ थैलीलाई कसेर दराजमा राखौ र लक गरौँ, चोरी र ठगीबाट बचौँ !


