काठमाडौँ। जानकी फाइनान्सले वार्षिक साधारण सभा गर्ने भएको छ । फाइनान्सले पुस १९ गते शनिबार २७औं र २८औं वार्षिक साधारण सभा गर्ने भएको हो ।
कम्पनीको मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको छ । सभा बिहान ८ बजे मसाला कटेज, तिरहुतिया गाछी, जनकपुरधाममा हुने भएको छ ।
सभाले आर्थिक वर्ष २०७९-८० र २०८०-८१ को सञ्चालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, संस्थाको आव २०७९-८०, २०८०-८१ को अन्तिम लेखापरीक्षण प्रतिवेदन, वित्तीय अवस्थाको विवरण (वासलात), नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तनको विवरण लगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गर्नेछ ।
सभाले जानकी फाइनान्स कम्पनी र अन्य उपयुक्त बैंक वा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्न गराउन वा उपयुक्त देखिएको अवस्थामा वैदेशिक रणनीतिक साझेदारीमा जानको लागि चल अचल सम्पत्ति तथा दायित्व र कारोवारको मूल्यांकन गर्न तथा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा प्रारम्भिक तथा अन्तिम सम्झौता गर्न र सो प्रकृया पुरा गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।



