काठमाडौं ।नेपालमा बाल क्यान्सर उपचार सेवा सुदृढ बनाउनको उद्देश्यसहित रमेश गुप्ता मेमोरियल ट्रस्टले महालक्ष्मी विकास बैंकको सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड उपलब्ध गराएको छ। यस सुविधाले अस्पतालको बाल क्यान्सर उपचार क्षमता बढाउँदै आईसीयू क्षमतालाई १५ बेडसम्म पुर्याउनेछ।
ट्रस्टका अनुसार यो पहल देशभर बाल क्यान्सर हेरचाह प्रणालीलाई सुदृढ र सुलभ बनाउन चलाइएको ठूलो अभियानको हिस्सा हो। ट्रस्टले विश्वव्यापी साझेदार ‘वर्ल्ड चाइल्ड क्यान्सर’ को सहकार्यमा सातै प्रदेशमा स्थापना भएका साझा उपचार केन्द्रहरूलाई उपकरण, क्षमता अभिवृद्धि तथा आवश्यक सहयोग प्रदान गर्दै आएको छ। यी केन्द्रहरूले उपचार सेवालाई विकेन्द्रीकरण गरेर बालबालिकालाई घरनजिकै समयमै क्यान्सर उपचार उपलब्ध गराउने महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्, जसले परिवारलाई लामो दूरीको यात्रा, आर्थिक बोझ र मानसिक तनावबाट बचाउँछ।
ट्रस्टले बाल क्यान्सर उपचारको परिणाम सुधार गर्न ३६०(डिग्री दृष्टिकोण अपनाउँदै स्वास्थ्यकर्मी तालिम, जनचेतना अभिवृद्धि, क्षमता विकास तथा परिवारलाई आर्थिक, मनोसामाजिक र भावनात्मक सहयोग प्रदान गर्दै आएको छ। यसको उद्देश्य नेपालका बालबालिकाले क्यान्सरविरुद्धको लडाइँमा गुणस्तरीय उपचार, आशा र समान अवसर प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नु हो।
ट्रस्टका अनुसार बाल क्यान्सर उपचार सुधारका लागि सहकार्य, लगानी र दीर्घकालीन दृष्टिकोण अपरिहार्य छन्। निरन्तर पहलकदमीमार्फत देशभरका बालबालिकाले जहाँ बसे पनि गुणस्तरीय क्यान्सर उपचार सेवामा पहुँच पाउने संरचना बनाउन आफूहरू प्रतिबद्ध रहेको ट्रस्टले जनाएको छ।




