काठमाडौँ । नियुक्ति भएको एक महिनामै हिमालयन लाइफ इन्स्योरेन्सका सीइओ कपिल कुमार दाहाललाई राजिनामा दिन दबाब पुगेको खुलासा भएको छ । कम्पनीमा केहि समय अघि भएको आन्दोलनलाई सेफ ल्याण्ड गर्ने जिम्मा पाएका दाहालले फेरी समस्या बल्झिनेगरी काम गरेको, र संस्थाको हित विपरित भएका कामलाई पनि सेफ ल्याण्ड गर्न नसकेको भन्दै उनको राजिनामा मागिएको खुलासा भएको हो ।
बोर्डका एक सदस्यले उनको राजिनामाको कुरा उठेको पुष्टी गरे । ‘मनोजजी निस्किहाल्नुभयो । दाहालजीबाट कम्पनी नचल्ने निष्कर्ष मेरो छ, र अन्य केहि संचालकको पनि छ । उहाँको विकल्प को हुन सक्छ भनेर हामीले खोजिनिधि गरिरहेका छौँ । नयाँ सीइओ पाउनेबित्तिकै उहाँलाई बिदा गर्छौं ।’ ती संचालकले भने ।
ती संचालकले दाहाल सीइओ भए पनि उनले विभिन्न व्यक्तिलाई सोधेर मात्र निणर्य लिने गरेको र आफु सीइओ बन्नका लागि गरेको प्रयास अनुसार काम केहि दिनमै नदेखिएको दाबी गैरका छन् । ‘काम गर्नेको तरिका केहि दिनमा देखिन्छ । हामी उहाँको विकल्प खोज्नुपर्छ भन्ने कुरामा प्रष्ट छौं ।’
ती संचालकका अनुसार अर्धसरकारी स्वामित्वको नेपाल रिइन्स्योरेन्स कम्पनीको सेयर किन्न हिमालयन लाइफको समेत प्रयोग भएको प्रकरणलाई सेटल गर्न नसकेको, अन्दाधुन्द लगानी गर्न यसअघिको नेतृत्वलाई उक्साएर अहिले नाफा गर्न नसकेको भन्दै पब्लिकको रकमलाई मनोमानी गर्ने विषयको तत्काल समाधान नगरे राजिनामा दिन दबाब परेपछि उनको कार्यकाल धेरै नजाने सम्भावना बढेर गएको हो ।
मनोज कुमार लाल कर्णले राजिनामा दिएपछि हिमालयन लाइफको आन्दोलन केहि साम्य भए पनि कर्मचारीका माग पूरा नगराउन अहिलेका सीइओ कपिल दाहालले नै भूमिका खेलेको आरोप लागेको छ । बीमितले पाउने बोनस प्रतिस्पर्धी कम्पनीसँग बराबर गर्नुपर्ने, व्यवस्थापनको लापरवाहीको नियन्त्रण गर्नुपर्ने, बेथितीको अन्त्य गर्नुपर्ने, विभेदकारी नीति अन्त्य गर्नुपर्ने र बीमितको विश्वास माथीको खेलबाड बन्द गर्नुपर्ने माग राखेका कर्मचारी र अभिकर्ताको आन्दोलन पूर्व सीइओले राजिनामा दिएसँगै मथ्थर भए पनि दाहालले कर्मचारीलाई पेलेरै जानुपर्ने सुझाव दिएको र उनको नेतृत्वमा पनि कम्पनीका समस्या समाधान नहुने भन्दै केहि अभिकर्ताहरुले पुन: आन्दोलन गर्नुपर्ने कुरा उठाएपछि दाहालको भूमिका शंकास्पद रहेको आरोप लागेको हो ।
दाहालकै उक्साहटमा अन्धाधुन्द लगानी गर्दा सेयर बजारमा ठुलो घाटा भएको आरोपसमेत उनीमाथि छ ।
यस विषयमा दाहालसँग धारणा लिन खोज्दा उनी सम्पर्कमै आएनन् । बरु एक विज्ञापन एजेन्सीका प्रतिनिधि मार्फत थप समाचार नबनाईदिन आग्रह गर्दै बैंकिङ संसारका सम्पादकलाई फोन गर्न लगाएका छन् ।


