काठमाडौँ । दुवै घर जलेपछि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल घरविहीन बनेका छन् । घर जलेपछि उनी अहिले राष्ट्र बैंककै एक कोठामा बस्दै आएका छन् ।
राष्ट्र बैंकका कर्मचारीहरूका अनुसार गभर्नर पौडेल हाल थापाथलीस्थित राष्ट्र बैंक भवनकै एक कोठामा बस्छन् । उनी सोही कोठामा सुत्छन्, बिहान कार्यालय जान्छन् र बेलुकी फर्किएर पुनः त्यहीँ कोठामा सुत्ने गर्छन् । सम्भवत: इतिहासमै पहिलोपटक राष्ट्र बैंकका गभर्नर यस्तो बाध्यात्मक सादगीपूर्ण जीवनशैलीमा देखिएका हुन् ।
गभर्नर पौडेलको रहनसहन सामान्य भए पनि उनको निर्णयमा आत्मसम्मान झल्किएको देखिन्छ । उनका केही निकटस्थहरूले जानकारी दिएका अनुसार, बैंकका कतिपय प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरूले आफ्नै घरमा बस्न निम्तो दिए पनि उनले ती प्रस्ताव अस्वीकार गर्दै राष्ट्र बैंककै कोठामा बस्ने निर्णय गरेका हुन् ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा ललितपुरको भैंसेपाटी र चितवनस्थित निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए । त्यसपछि उनी बसोबासविहीन बनेका हुन् ।
राष्ट्र बैंकले गभर्नरका लागि नयाँ आवास भाडामा लिने तयारी गरिरहेको छ । सो प्रक्रिया पूरा नहुन्जेलसम्म पौडेल राष्ट्र बैंककै भवनमा बस्ने तयारीमा छन् ।
उनको परिवार भने आगजनीपछि विदेश गइसकेको छ । पौडेलले पनि गभर्नर पदबाट राजीनामा दिएर केही समय विदेशमै बस्ने तयारी गरेका थिए, तर अर्थमन्त्रीले ‘काममै लाग्न’ सुझाएपछि उनले राजीनामाको योजना तत्कालका लागि स्थगित गरेको निकटहरूले जनाएका छन् ।