काठमाडौँ । आइएमई ग्रुप अन्तर्गतका दुई प्रमुख कम्पनी — ग्लोबल आइएमई बैंक र आइएमई लिमिटेड — ले संयुक्त रूपमा प्रायोजन गरेको अवार्ड कार्यक्रममा आइएमईकै पूर्व सीईओ तथा हाल आइएमई लाइफ इन्स्योरेन्सका डेपुटी सीईओ रहेका खिलेन्द्र पौडेललाई सम्मान गरिएको छ।
सिजन मिडियाले आयोजना गर्ने सो अवार्ड कार्यक्रमले विगतदेखि नै विभिन्न क्षेत्रका सफल व्यक्तिहरूलाई सम्मान गर्दै आएको भए पनि, यस वर्षको कार्यक्रममा पौडेललाई प्रदान गरिएको “एक्सिलेन्स इन फाइनान्सियल सर्भिसेस अवार्ड” ले भने प्रश्न र विवाद दुवै खडा गरेको छ।
ग्लोबल आइएमई बैंक सो कार्यक्रमको मुख्य प्रायोजक थियो, जबकि आइएमई लिमिटेड पनि सह-प्रायोजकको भूमिकामा थियो । यस्तै अवस्थामा, आइएमई ग्रुपकै उच्च पदाधिकारी रहेका पौडेललाई सोही कार्यक्रममा सम्मान प्रदान गर्नुले हितको टकराव (Conflict of Interest) को गम्भीर प्रश्न उठाएको हो ।
बैंकिङ तथा वित्त क्षेत्रका विज्ञहरूले पनि यसलाई पारदर्शिता र निष्पक्षताको सन्देहपूर्ण अभ्यासका रूपमा व्याख्या गरेका छन्। ‘जब कुनै संस्था वा समूहले आफैंले प्रायोजन गरेको कार्यक्रममा आफ्नै वरिष्ठ अधिकृतलाई पुरस्कृत गर्छ, त्यसको निष्पक्षता र विश्वसनीयतामा प्रश्न उठ्नु स्वाभाविक हो’ एक विज्ञले भने ।
अवार्ड पाएका खिलेन्द्र आईएमईमा सोचे अनुसारको काम गर्न असफल भएपछि उनलाई हटाएर अहिले दिवाकर पौडेललाई कम्पनीको सीइओ बनाइएको छ । आईएमईमा सेकेन्ड कमाण्डको भूमिकामा रहेका खिलेन्द्रलाई सीइओ बनाएपछि कम्पनी ठूला अपेक्षा राखेको थियो । तर, उनको नेतृत्वमा आईएमई उल्टै खस्कियो । पौडेलले नयाँ केही गर्न सकेनन्, बरु विद्यमान व्यवसाय पनि जोगाउन असफल भए । उनको कार्यकालमा आईएमई एकपछि अर्को विवादमा तानियो र बजार हिस्सेदारी घट्दै गयो । त्यसपछि कम्पनीले ‘खिलेन्द्र फर्स्ट म्यान क्यारेक्टर होइन रहेछन्’ भन्ने निष्कर्ष निकालेर उनलाई हटायो ।
तर, उनी लामो समयदेखि ग्रुपमा सेवा दिइरहेकाले उनीलाई अन्यत्र एडजस्ट गरेर मात्र विदा गर्ने निर्णय गरियो ।त्यसपछि आईएमई लाइफमा कवि फुयाँललाई हटाई, सूर्यज्योतिका सेकेन्ड म्यान पवन कुमार खड्कालाई सीइओ बनाइएको थियो, र त्यही समयमा खिलेन्द्रलाई डेपुटी सीइओ बनाइएको हो । हाल खिलेन्द्र खड्काका अधिनमा काम गर्छन् । अर्थात्, खड्काले जे आदेश दिन्छन्, त्यही पालना गर्नेबाहेक पौडेलको कम्पनीमा कुनै निर्णायक भूमिका छैन ।आईएमई लाइफ इन्स्योरेन्स पब्लिक लिमिटेड पब्लिक कम्पनी हो । आईएमई ग्रुपको लगानी भएकै भरमा कसैलाई ‘जागिर एडजस्टमेन्ट’का लागि राख्दा कम्पनीमा बोझ बढ्ने देखेपछि हाल कम्पनीभित्रै खिलेन्द्रलाई विदा गर्नुपर्ने आवाज उठ्न थालेको छ । तर, ग्रुपभित्र यस विषयमा खुला रूपमा बोल्ने कोही नहुँदा कुरा अहिले ‘गसिप’मै सीमित छ ।यस विषयमा पनि खिलेन्द्र पौडेलको धारणा लिन खोज्दा पनि उनी सम्पर्कमा आएका छैनन् ।