काठमाडौँ । राष्ट्रिय बाणिज्य बैंक कर्मचारीको सुरक्षाको मामलामा हदैसम्म असंवेदनशील भएको पाइएको छ । बैंकले अत्यावश्यक सेवाका नाममा अत्यावश्यक सेवा नै नहुने ठाउँमा पनि विहान १० बजे देखि २ बजेसम्म काम गर्न कर्मचारीलाई बोलाएको भन्दै कर्मचारीले गुनासो गरेका छन् ।
‘जहाँ आवश्यक नै छैन, दिनभर कोहि आउनेवाला छैन, त्यस्ता ठाउँमा हामीलाई काम गर्न बोलाइएको छ ।’ बैंकिङ संसारको सम्पर्कमा आएका राष्ट्रिय बाणिज्य बैंकका एक कर्मचारी भन्छन्- ‘आवश्यक ठाउँमा त सहयोग गर्नुपर्छ, तर यो बेला भनेको शाखा खोलेको देखाउने समय नै होइन । घरमा सबै चिन्तित हुनुहुन्छ । अफिस पुग्ने वातावरण पनि छैन । कसरी जानु अफिस ?’
सरकारले विपदका बेला दिएको बिदाको समयमा पनि काठमाडौँको आलिसान घरमा बसेर सीइओ देवेन्द्र रमण खनालले मनपरी ढंगले सरकारका अगाडी राम्रो देखिन कर्मचारीको सुरक्षामाथि नै प्रश्न उठ्ने गरी शाखा खोल्ने निर्देशन दिएको भन्दै कर्मचारीहरु आक्रोशित बनेका छन् । बैंकले एक सूचना नै जारी गरेर शाखाहरु खुल्ने बताएको छ । तर, बैंकले भनेजस्तो सो ठाउँमा अत्यावश्यक स्थिति नरहने भन्दै कर्मचारीहरुले अहिले विरोध गरिरहेका छन् ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा सीइओ देवेन्द्र रमण खनालसँग सम्पर्क नै हुन सकेन ।