काठमाडौं । अनुभवी बैंकर सशिन जोशीलाई काठमाडौं फिनटेकले आफ्नो सल्लाहकारमा नियुक्त गरेको छ । जोशीसँग तीन दशकभन्दा बढीको बैंकिङ तथा वित्तीय क्षेत्रको अनुभव छ।
जोशीले अघिल्लो कार्यकालमा फोनपे अध्यक्ष, जावालाखेल ग्रुप अफ इन्डस्ट्रीजका कार्यकारी निर्देशक, नाबिल बैंक र एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृतका रूपमा काम गरिसकेका छन्। साथै, उनले स्टान्डर्ड चार्टर्ड बैंकमा कर्पोरेट तथा संस्थागत बैंकिङको नेतृत्व पनि सम्हालेका थिए ।
संस्थाका सीईओ सञ्जिब सुब्बाले जोशीको आगमनले संस्था मात्र होइन, समग्र बैंकिङ र फिनटेक क्षेत्रमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरे । उनका अनुसार, जोशीको रणनीतिक दृष्टिकोण, अनुभव र डिजिटल परिवर्तनप्रतिको दृष्टिकोण नेपालमा फिनटेक क्षेत्रको विकासमा सहायक हुनेछ ।
काठमाडौं फिनटेक नेपालमा बैंकिङ तथा फिनटेकसम्बन्धी तालिम र परामर्श प्रदान गर्ने अग्रणी संस्था हो। यस संस्थाले ‘नेपाल फिनटेक फेस्टिव’ जस्तो प्रतिष्ठित वार्षिक कार्यक्रममार्फत फिनटेक इकोसिस्टमको प्रवर्द्धन गर्दै आएको छ।