काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगर महानगरपालिका-७ मा अवस्थित सत्यनारायण आधारभूत विद्यालयलाई ४० थान डेस्कबेन्च हस्तान्तरण गरेको छ।
बैंकको विराटनगर शाखाले आइतबार एक कार्यक्रममार्फत विद्यालयलाई सो फर्निचर प्रदान गरेको हो। विद्यार्थीको उचाइ अनुसार मिल्ने गरी विशेष रूपमा निर्माण गरिएका डेस्कबेन्च विद्यालयकी प्रधानाध्यापक रेखा पराजुलीलाई हस्तान्तरण गरिएको शाखा प्रमुख राजेश ढकालले जानकारी दिए।
प्रधानाध्यापक पराजुलीले विद्यालयमा पुराना तथा अनुपयुक्त डेस्कबेन्चका कारण विद्यार्थीलाई लेखपढमा समस्या भइरहेको अवस्थामा बैंकले सहयोग गरेपछि पठनपाठन सहज हुने विश्वास व्यक्त गरिन्।
हिमालयन बैंकका कोशी प्रदेश प्रमुख सन्तोष पराजुलीका अनुसार बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक पूर्वाधार सुदृढीकरणका लागि यस किसिमको सहयोगलाई निरन्तरता दिइरहेको छ।
वि।सं। २०२० मा स्थापना भएको सत्यनारायण आधारभूत विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अध्यापन हुँदै आएको छ। हाल विद्यालयमा करिब १५० विद्यार्थी अध्ययनरत छन्।