काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कर्णाली प्रदेशको सुर्खेतस्थित सामाजिक संस्था आवाज नेपाललाई सरसफाइ तथा उपभोग्य सामग्री सहयोग गरेको छ।
एकल महिला, बालबालिका, घरेलु हिंसा, मानव ओसारपसार र द्वन्द्व प्रभावितहरूको अधिकार र सशक्तिकरणका क्षेत्रमा सक्रिय आवाज नेपालले हाल करिब ४० जना महिला र बालबालिकालाई सेवा दिइरहेको छ।
बैंकले संस्था सञ्चालनका लागि आवश्यक पर्ने सरसफाइ सामग्री र दैनिक उपभोग्य वस्तुहरू करिब २ महिनासम्म पुग्ने मात्रामा हस्तान्तरण गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रम सुर्खेतमा आयोजना गरिएको थियो, जहाँ सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सामग्रीहरू हस्तान्तरण गरे।
कार्यक्रममा बोल्दै पोखरेलले बैंकको सानो सहयोगले समाजमा सकारात्मक प्रभाव परेको देख्दा खुसी लागेको बताए । साथै, आवाज नेपालजस्ता संस्थाहरूले एकल महिला र बालबालिकाको अधिकार संरक्षणमा खेलेको भूमिकालाई प्रशंसा गरे।
आवाज नेपालले विगतदेखि नै मानव अधिकार संरक्षण, महिलाको सशक्तिकरण, बाल अधिकार, न्याय प्राप्ति तथा मानव ओसारपसारविरुद्ध चेतनामूलक कार्यहरू गर्दै आएको छ । बैंकले यस सहयोग कार्यक्रममार्फत सामाजिक रूपान्तरण र समावेशीतामा आधारित समाज निर्माणमा योगदान दिने लक्ष्य राखेको जनाएको छ ।
सिटिजन्स बैंकले अघिल्लो वर्षहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र सीप विकास जस्ता विभिन्न सामाजिक क्षेत्रमा सहयोग र कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। बैंकले भविष्यमा पनि यस्ता सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।