PRABHU BANK

कृषि विकास बैंकले सस्तोमा जग्गा लिलाम गरेको भन्दै लहानका स्थानीय आन्दोलित, आन्दोलनकारी र प्रहरीबीच झडप !

काठमाडौँ । कृषि विकास बैंक लहान शाखाले करोडौँको जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् । किस्ता तिर्दातिर्दै पनि बैंकले सस्तोमा धितो लिलाम गरिदिएको भन्दै स्थानीयले घण्टौँसम्म टायर बाली लहानस्थित पूर्वपश्चिम राजमार्ग नै अवरूद्ध पारेका हुन्  ।

आन्दोलनकारीले बैंक कार्यालयमा ढुङ्गामुढा समेत गरेका थिए। यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप पनि भएको छ । आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नुपरेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए ।

उनले झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारी के कति घाइते भएका यकिन नभएको बताए । प्रहरी प्रवक्ता पासवानका अनुसार केही आन्दोलनकारी पक्राउ परेका छन् । उनीहरूलाई इलाका प्रशासन कार्यालय लहानमा राखेर ‘भेरिफाइ’ गर्ने काम भइरहेको छ । स्थिति सामान्य भएपछि चार घण्टापछि दिउँसोदेखि राजमार्ग सञ्चालनमा आएको थियो ।

स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ साल फागुन १५ गते रू ३० लाख ‘ओडी’ ऋण लिएका थिए । झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म रू १९ लाख ९२ हजार सात सय ७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नु परेको ऋणी यादवले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै