काठमाडौँ । महालक्ष्मी विकास बैंकले विभिन्न सहयोगका कार्यक्रमहरू सम्पन्न गरेको छ । बैंकको महिलवार (लुम्बिनी) शाखाद्वारा २५६८ औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवस २०८१ को अवसरमा लुम्बिनीमा नि:शुल्क पानी तथा मिठाई वितरण कार्यक्रम सम्पन्न गरेको हो ।
बुद्ध जयन्तीको अवसर पारेर बुद्ध जन्मस्थल लुम्बिनीमा दर्शन गर्न आएका करिब २५ सय श्रद्धालु भक्तजनहरूका लागि शुद्ध पिउने पानी तथा मिठाई वितरण गरिएको थियो । बैंकले विगत १३-१४ वर्षदेखि नै बुद्ध जयन्तीको दिन श्रद्धालु भक्तजन तथा सर्वसाधारणहरूलाई पिउने पानीको समस्या नहोस् भन्ने उद्देश्यले यो कार्यलाई निरन्तरता दिँदै आएको छ ।
बैंकको धनगढी शाखाद्वारा धनगढी उपमहानगरपालिकाको ‘नगरप्रमुख शैक्षिक सुधार कोष’लाई १ लाख २५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ । ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अध्ययन गर्ने बालबालिकाले आर्थिक अभावका कारण बीचैमा पढाई छोड्न नपरोस् भनेर स्थापना गरिएको नगरप्रमुख शैक्षिक सुधार कोष मार्फत विपन्न परिवारका बालबालिकाहरूको शैक्षिक गुणस्तर सुधार्न गर्न मद्दत पुयाउने उद्देश्यले बैंकले उक्त सहयोग गरेको हो ।
बैंकको सुदूरपश्चिम प्रदेश प्रमुख सुनिल कुमार नेपालले धनगढी उपमहानगरपालिका नगरप्रमुख गोपाल हमाललाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । आगामी दिनहरूमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरू निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।