MAX TIGER

‘स्क्याम नियन्त्रणका लागि एकीकृत प्रणाली र सार्वजनिक निजी साझेदारी आवश्यक छ’ – नेपाल राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बढ्दो वित्तीय स्क्याम (ठगी) नियन्त्रण तथा पीडितको रकम सुरक्षित र शीघ्र फिर्ता गर्ने उद्देश्यले सरकारी निकाय, नियामक संस्था, कानुन कार्यान्वयन गर्ने निकाय र निजी क्षेत्रबीच रणनीतिक सहकार्य आवश्यक रहेको जनाएको छ। वित्तीय चेतना अभिवृद्धिका लागि मङ्गलबार जारी सन्देशमार्फत राष्ट्र बैंकले स्क्याम नियन्त्रणका लागि एन्टी-स्क्याम सेन्टर तथा सार्वजनिक-निजी साझेदारीलाई प्रभावकारी माध्यमका रूपमा प्रस्तुत गरेको छ।

राष्ट्र बैंकका अनुसार शङ्कास्पद कारोबार तथा म्युल खातालाई तत्काल रोक्का गर्न सके ठगीमा परेको रकम जोगाउन र पीडितलाई फिर्ता गर्न सहज हुन्छ। त्यस्तै, ठगीमा प्रयोग भएका बैंक खाता, वालेट, फोन नम्बर, वेबसाइट तथा डिभाइससम्बन्धी सूचना विभिन्न निकायबीच आदानप्रदान गर्दा स्क्यामको पहिचान र नियन्त्रण प्रभावकारी बन्नेछ।

सन्देशमा वित्तीय सेवाप्रदायक संस्थाहरूलाई ग्राहक पहिचान, कारोबार अनुगमन, ठगी नियन्त्रण तथा सुरक्षा प्रणाली सुधार गर्न आवश्यक सुझाव र सहकार्य उपलब्ध हुने उल्लेख छ। यसबाट जोखिममा रहेका ग्राहकको पहिचान, वित्तीय साक्षरता, जनचेतना र परामर्श सेवामा समेत सुधार आउने अपेक्षा गरिएको छ।

२४ घण्टा स्क्याम नियन्त्रण संयन्त्रको आवश्यकता

राष्ट्र बैंकले स्क्याम नियन्त्रणका लागि नेपाल सरकार, गृह मन्त्रालय र नेपाल राष्ट्र बैंकको संयोजकत्वमा सेवाप्रदायक तथा सम्बन्धित निकायलाई समेटेर अन्तरसंस्थागत समन्वय संयन्त्र निर्माण गर्नुपर्ने विषयमा जोड दिएको छ। उक्त संयन्त्रले नीतिगत तथा कार्यगत सुधार, सूचना आदानप्रदान, पीडितसँग समन्वय, कानुनी कारबाही, अन्तरदेशीय सहकार्य तथा ठगीमा परेको रकम फिर्तासम्बन्धी कार्यलाई प्रभावकारी बनाउनुपर्ने सन्देशमा उल्लेख छ।

त्यस्तै, गोपनीयतासम्बन्धी कानुनको पालना गर्दै आधुनिक प्रविधि, दक्ष जनशक्ति र आवश्यक स्रोतसाधनसहित २४ घण्टा, सातै दिन सञ्चालन हुने जिम्मेवार संस्थागत संरचना आवश्यक रहेको राष्ट्र बैंकको भनाइ छ। सन्देशमा नेपाल प्रहरीको साइबर ब्यूरोअन्तर्गत एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र स्थापना गरी हटलाइन नम्बर १२४७ मार्फत वित्तीय ग्राहकलाई स्क्यामसम्बन्धी एकद्वार समाधान उपलब्ध गराउने व्यवस्था उल्लेख गरिएको छ।

प्रभावकारिता मापनका लागि स्पष्ट सूचक आवश्यक

राष्ट्र बैंकले स्क्याम नियन्त्रण प्रणालीको प्रभावकारिता मापन गर्न रोक्का गरिएको रकम, जोगाइएको ग्राहक रकम, पहिचान गरिएका म्युल खाता, फिर्ता गरिएको रकम, कारबाहीको गति तथा रकम फिर्ता हुन लागेको समयलाई प्रमुख सूचकका रूपमा लिनुपर्ने जनाएको छ। यसका साथै स्क्याममा परेका ग्राहकको सङ्ख्या र त्यसको प्रवृत्तिको विश्लेषण गरी प्रतिरोधात्मक उपाय, कारोबार निगरानी तथा गुनासो व्यवस्थापन प्रणालीलाई निरन्तर सुधार गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्र बैंकले सुरक्षित वित्तीय प्रणाली निर्माणका लागि सम्बन्धित संस्थाको उच्च व्यवस्थापनको प्रतिबद्धता, कर्मचारीको क्षमता विकास, आधुनिक प्रविधिको प्रयोग, निर्दोष ग्राहकको संरक्षण तथा असल अभ्यासको पालना अपरिहार्य रहेको जनाएको छ।

वित्तीय ग्राहकलाई गुनासो गर्न आग्रह

नेपाल राष्ट्र बैंकले वित्तीय कारोबारमा ठगी वा अनियमितता भएमा सम्बन्धित निकायमा तत्काल जानकारी गराउन तथा उपलब्ध गुनासो संयन्त्रको प्रयोग गर्न वित्तीय ग्राहकलाई आग्रह गरेको छ। वित्तीय ग्राहकले गुनासो दर्ता तथा आवश्यक जानकारीका लागि निम्न माध्यम प्रयोग गर्न सक्नेछन्।

अनलाइन गुनासो पोर्टल: www.gunaso.nrb.org.np
वित्तीय ग्राहक संरक्षण इकाइ: ०१-५७१९६०५
साइबर स्क्याम प्रतिकार्य हटलाइन: १२४७

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्