काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाह हुने सेयर कर्जा बढेको पाइएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार बैंकहरूबाट प्रवाह हुने सेयार कर्जा ३२.८८ प्रतिशतले बढेको हो।
चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो ८ महिना फागुनसम्म बैंकहरुबाट १ खर्ब ५६ अर्ब २७ करोड ९४ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१-८२ को फागुनसम्म बैंकहरुबाट १ खर्ब १८ अर्ब ५० करोड ११ लाख रुपैयाँ कर्जा गएको थियो।
जुन हिसाबले अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा बैंकहरुबाट सेयर धितो कर्जा ३१.८८ प्रतिशतले बढेको छ। फागुनसम्म बैंकहरुबाट १ करोड रुपैयाँ माथिको रेन्जको कर्जा १ खर्ब ९ अर्ब ६४ करोड ६७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ। अघिल्लो वर्ष फागुनसम्म यो रेन्जको कर्जा ७९ अर्ब १२ करोड ९४ लाख रुपैयाँ गएको थियो।
समीक्षा अवधिसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १८ अर्ब ८१ करोड ५८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १९ अर्ब ६ करोड १६ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब ७५ करोड ७३ लाख रुपैयाँ गएको छ।
अघिल्लो वर्ष फागुनसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ७७ करोड ८२ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १६ अर्ब ४४ करोड ९२ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा ८ अर्ब १४ करोड ४३ लाख रुपैयाँ गएको थियो।
अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा २७.३२ प्रतिशत, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १५.८८ प्रतिशत र २५ लाख रुपैयाँसम्मको रेन्जको कर्जा भने ७.५० प्रतिशतले बढेको छ।

