काठमाडौँ । सन्तोष राठीले बैंक चलाउन नसक्ने निष्कर्षसहित एनआईसी एशिया बैंकका संचालकहरु नयाँ सीइओ खोज्न लागि परेका छन् । संचालक समितिमा केहि व्यक्तिहरुलाई सीइओको अफर गर्नेगरी भूमिका निर्धारण गरिएको एक संचालकले पुष्टी गरेका छन् ।
ती संचालकका अनुसार एनएमबि बैंकका पूर्व सीइओ सुनिल केसीलाई बैंकको सीइओ बन्न अफर गर्नेगरी एक संचालकलाई भूमिका दिईएको छ । दशैंको शुभकामना दिने बहानामा ती केसीसँग बसेर यस विषयमा छलफल गर्न भनिएको छ ।
यस्तै बैंकका पूर्व सिनियर डेपुटी सीइओ सुधिर नाथ पाण्डेलाई पनि बैंकको सीइओ बन्न अफर गर्ने कुरा बैंक संचालक समितिमा राखिएको तर अन्य केहि संचालकहरुले यसमा विमति राखेको बुझिएको छ । ‘सुधिरजीलाई नै सीइओ बनाएर ल्याउने भन्ने कुरा पनि चलेको थियो । तर उहाँले सक्ने भए, राठीजी सक्ने भए त बैंक राम्रै भईहाल्थ्यो नि, किन बाहिर मान्छे खोज्नुपर्थ्यो र ? भन्ने कुरा आयो । त्यसपछि उहाँलाई सोध्ने कि नसोध्ने भन्ने विषयमा थप बहस भएन ।’ बैंकका एक संचालकले बैंकिङ संसार डटकमसँग भने, ‘ज्ञानेन्द्र ढुंगाना खाली छन्, अफर गर्ने कि भन्ने कुरा पनि आयो, यस अघि पनि यो विषयमा बोर्डमा उठेको थियो । तर ढुंगानालाई बैंकको सीइओ अफर गर्ने विषयमा यस अघि पनि केहि संचालकको फरक मत थियो । यसमा पनि खासै निर्णय भएन । अहिलेलाई केसी सरलाई एक पटक कुरा गर्ने कुरा भएको छ ।’
एनआईसी एशिया बैंक अहिले इतिहासकै कठिन मोडमा छ । यो कठिन समयबाट बाहिर निकाल्ने सक्ने व्यक्तिलाई सीइओ बनाउनुपर्ने कुरामा बोर्ड एकमत छ । तर नयाँ सीइओ आएपछि बैंकको पूरै टिममा तलमाथि गर्नुपर्ने मत पनि एक भएको छ ।
‘राठी सरको विवाद अलि कम होला भनेको त, दिनहुँ अनेक कुरा आउन थाले । अन्य एसीइओलाई अहिले सीइओ बनाउने कुरा भएन । सुधीरजी फर्किन मान्नुहुन्न, उहाँ माने पनि फेरी यहाँ केहि संचालक मान्दैनन् । सबैले ठिक छ भनेको व्यक्तिचाहिं सुनिल केसी नै हो । तर उहाँले पनि गाह्रो परेको बैंकमा आउन मान्नुहुन्छ कि मान्नुहुँदैन भन्ने कुरा हो । तर पनि एक पटक कोसिस गर्नुपर्ने छ ।’ ती संचालकले भने ।
राठी सरचाहिं सीइओ नबन्ने नै हो त ? हाम्रो प्रश्नमा ती संचालक भन्छन्- ‘राठी सर अन्तिम विकल्प हो । अव कोहि नआए उहाँलाई सीइओ बनाउनुपर्ने कुरामा विकल्प नै छैन । तर उहाँ सीइओ बन्ने भन्दा पनि बैंकलाई फरक तरिकाले आगाडी बढाउनुपर्ने स्थिति छ । अहिलेकै टीमबाट सक्ने भए नयाँ मान्छे किन खोज्नुपर्थ्यो र ?