काठमाडौं । देशको बैंकिङ प्रणालीमा तरलता दिनप्रतिदिन बढ्दो क्रममा छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको असार १४ गतेसम्मको तथ्यांकअनुसार बैंकहरूको औसत क्रेडिट टु डिपोजिट (सीडी) रेसियो ७७.९१ प्रतिशतमा झरेको छ।
ऋणको माग घट्दै जानु र निक्षेप संकलनको दर उच्च रहनुले बैंकिङ प्रणालीमा तरलता थुप्रिएको हो। आर्थिक गतिविधि सुस्त रहेको अवस्थामा लगानीयोग्य ऋणको माग कम हुँदा बैंकहरूको लगानी क्षमतामा कमी आएको देखिएको छ। उता, आम नागरिकको बचत गर्ने प्रवृत्ति भने बढ्दो छ।
राष्ट्र बैंकका अनुसार असार १४ गतेसम्म देशभरका बैंकहरूको कुल निक्षेप ७० खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ, भने कर्जा प्रवाह ५५ खर्ब ७६ अर्ब रुपैयाँमै सीमित छ। यदि वाणिज्य बैंक मात्र हेर्ने हो भने, उनीहरूको कुल निक्षेप ६३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ भने कर्जा लगानी ४९ खर्ब ५६ अर्ब रुपैयाँमा सीमित छ।
बैंकहरूको सीडी रेसियो नियामक निकायले तोकेको ९० प्रतिशतको सीमाभन्दा झण्डै १२ प्रतिशतले तल झरेको छ। यो अवस्था कायमै रहेमा निकट भविष्यमा बैंकहरूले ब्याजदर अझै घटाउने सम्भावना प्रबल देखिन्छ।