बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत, ९६ अर्बबढी कर्जा स्वीकृत हुन बाँकी !

काठमाडौँ। बैंक तथा वित्तीय संस्थाबाट करिब २ खर्ब सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक वर्षको फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ५९ अर्ब ३९ करोड ७५ लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत भएको हो।

सरकारले यस अवधिमा सहुलियतपूर्ण कर्जाको लागि २८ अर्ब ४९ करोड ३ लाख रुपैयाँ ब्याज अनुदान प्रदान गरिसकेको छ। स्वीकृत कर्जामध्ये सबैभन्दा ठूलो हिस्सा व्यावसायिक कृषि तथा पशुपालन क्षेत्रले पाएको छ। यो क्षेत्रमा कुल ९१ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ कर्जा स्वीकृत भएको छ।

जसमा २ अर्ब ४७ करोड ४४ लाख रुपैयाँ बिना धितो र ८९ अर्ब ६ करोड ९० लाख रुपैयाँ धितोसहितको कर्जा हो। यस शीर्षकमा ३९ हजार ९९७ जना ऋणी रहेका छन्।

यता महिला उद्यमशीलता क्षेत्र दोस्रो स्थानमा रहेको छ। जसअन्तर्गत ६४ हजार ११९ ऋणीका लागि ६५ अर्ब ६९ करोड ७२ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत भएको छ। त्यस्तै, तेस्रो स्थानमा कपडा उद्योग सञ्चालनका लागि स्वीकृत कर्जा रहेको छ। जहाँ बैंकहरुले १ अर्ब ६ करोड ६५ लाख रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका छन्।

राष्ट्र बैंकले अझै ९६ अर्ब ६२ करोड ३० लाख रुपैयाँ बराबरको सहुलियतपूर्ण कर्जा स्वीकृत हुन बाँकी रहेको जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्