काठमाडौं । विदेशमा रहेर बैंकिङ कारोबार गर्ने नेपाली नागरिकहरूका लागि सुखद समाचार छ । अब नेपालीहरुले अनलाइन माध्यमबाट नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा खाता खोल्नका लागि तत्कालै राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।
नेपाल राष्ट्र बैंक ले हालै बैंक तथा वित्तीय संस्थाहरुलाई परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो । परिपत्रमा उल्लेख भएअनुसार, विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकले अनलाइन प्रणालीमार्फत खाता खोल्दा राष्ट्रिय परिचयपत्र नभए पनि अन्य आवश्यक आधिकारिक कागजातका आधारमा खाता खोल्न सकिनेछ ।
यस अन्तर्गत पासपोर्ट, भिसा, वर्क पर्मिट, पीआर कार्ड, नागरिकता प्रमाणपत्र, रोजगारदाताबाट प्राप्त प्रमाणपत्र, र अन्य कानुनी कागजातहरूलाई प्रमाणको रूपमा प्रयोग गर्न सकिनेछ। यसले विशेषगरी वैदेशिक रोजगारी, अध्ययन, वा बसोबासका लागि विदेश गएका नेपालीहरूलाई सहजता पुर्याउने विश्वास गरिएको छ।
यद्यपि, यस्तो खाता खोलेका खातावाल व्यक्ति नेपाल फर्किएपछि केही सर्तहरू पालना गर्नुपर्नेछ। नेपाल फर्किएपछि ३५ दिनभित्र सम्बन्धित खातावालले आफ्नो राष्ट्रिय परिचयपत्र प्राप्त गरी त्यसको विवरण सम्बन्धित बैंक वा वित्तीय संस्थामा अद्यावधिक गराउनु पर्नेछ। यस नियमको पालना नगरेमा खाता सञ्चालनमा केही प्रतिबन्ध लाग्न सक्नेछ।
नेपाल राष्ट्र बैंकको यस कदमले लामो समयदेखि बैंकिङ पहुँचबाट वञ्चित भएका विदेशमा रहेका नेपालीहरूको माग सम्बोधन गर्ने विश्वास गरिएको छ। यो नीतिले रेमिट्यान्स पठाउने, लगानी गर्ने, वा डिजिटल बैंकिङ सेवा लिने चाहना भएका प्रवासी नेपालीहरूलाई ठूलो राहत दिने अपेक्षा गरिएको छ।