काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्न लागेको छ । बैंकहरुमा अत्याधिक तरलता थुप्रिएपछि राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्नका लागि फागुन ४ गते ४० अर्ब रुपैयाँ तान्न लागेको हो।
बैंकले निक्षेप संकलन उपकरणमार्फत तान्ने भएको छ। राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आइतबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्। २१ दिने निक्षेप संकलन उपकरणको फागुन २५ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।
पछिल्लो समय कर्जाको माग नबढेपछि राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्न धउधउ परेको छ भने बैंकहरु ३ प्रतिशतभन्दा कम ब्याजदरमै राष्ट्र बैंकलाई पैसा दिन बाध्य भएका छन्।